बालेन्द्र र रविको साँझको भेटपछि मध्यरात गृहमन्त्री सुधनको सन्देश “कारबाही रोकिँदैन, डगमगाइँदैन”
काठमाडौं : गृहमन्त्री सुधन गुरुङको सेयर लगानीको गम्भीर विवादमा परेपछि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छलफलमा जुटेका थिए। पार्टीको केन्द्रीय समितिको बैठक सकिएपछि रवि आफ्नो निवासमा गएका थिए।
यता सरकारी कार्यालयको समय सकिएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रधानमन्त्री बालेन्द्र शाह त्यहाँबाट निस्किएर रविलाई भेट्न गएका थिए। दुबैबीच सोमबार साँझ भएको भेटवार्ताको मुख्य विषय गृहमन्त्री गुरुङबारे नै देखियो। तर छलफलको निष्कर्ष के भयो सार्वजनिक भएको छैन।
सोमबार दिउस आफ्नो शेयर लगानीबारे फेसबुकमा स्पष्टीकरण लेखेका गृहमन्त्री गुरुङले सोमबार मध्यरात सामाजिक सञ्जालमा “कारबाही नरोकिने र नडगमगाउने” लेखे।
दीपक भट्ट र शंकर समूहको मुख्य लगानी रहेको कम्पनीमा संस्थापक सेयरमा लगानी गरे पनि सम्पत्ति विवरणमा लुकाएका उनले फेसबुकमा “वर्षौँदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्” लेखे।
उनले सार्वजनिक भएका प्रमाण जसलाई उनले पनि स्विकारेर ऋणमा लगानी गरेको दाबी गरे त्यसलाई मिडिया ट्रायल र प्रायोजित हल्लाको संज्ञा दिए । उनले यसलाई उनीहरूको छटपटी भएको भन्दै लेखेका छन् “कारबाही रोकिँदैन, डगमगाइँदैन। दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ।"
वैशाख ७, २०८३ सोमबार २३:११:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।