घरेलु मैदानमा नेपाल यूएईसँग स्तब्ध

घरेलु मैदानमा नेपाल यूएईसँग स्तब्ध

काठमाडौं : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको अन्तर्राष्ट्रिय टी-२० खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको छ।

वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा तय गरिएको लक्ष्य पछ्याएको यूएईले ८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेललाई १० ओभरमा झारिएको थियो र यूएईले ७८ रनको संशोधित लक्ष्य पाएको थियो।

यूएईका लागि कप्तान मोहम्मद वसिमले १५ बलमा ३३ रन जोडे। उनले नेपाली डेब्यु खेलाडी हेमन्त धामीको पहिलो ओभरमा २० रन प्रहार गरेका थिए। यस्तै अलिसान सराफुले १८ रन र अक्षदिप नाथले ८ बलमा १७ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले किफायती बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए। कुशल मल्लले एक विकेट हात पारे।

यसअघि नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ बलमा सर्वाधिक ३२ रन जोड्दै अविजित रहे। अन्य ब्याटरमा कुशल मल्लले १७, कुशल भुर्तेलले १६, बसिर अहमदले १४, अर्जुन साउदले १३ र नन्दन यादवले १३ रन जोडेका थिए। सन्दीप जोरा ६, गुल्सन झा १ र सन्दीप लामिछाने २ रनमा सीमित हुँदा शेर मल्ल शून्यमा आउट भए।

यूएईका बलर मोहम्मद जुहैबले ३ विकेट लिए भने जुनेद सिद्दिकीले २ विकेट झारे। हैदर अली र मोहम्मद अर्फानले समान १-१ विकेट लिए।

घरेलु मैदानमा पहिलो पटक रात्रिकालीन संरचनामा खेलिएको ऐतिहासिक खेलमा वर्षाले बाधा पुर्याए पनि उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो। नेपाल र यूएईबीचको दोस्रो खेल मंगलबार हुनेछ।
 

वैशाख ७, २०८३ सोमबार २१:३५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।