युएई विरुद्धको खेलमा पहिला ब्याटिङ गर्दै नेपाल

युएई विरुद्धको खेलमा पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं : नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने दुई खेलमध्ये टि-ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत सोमबारको पहिलो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। नेपालमा पहिलो पटक फ्लड लाइटमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो। 

यद्यपि यसअघि घरेलु प्रतियोगिता एनपिएल भने फ्लड लाइटमा खेलाइएको थियो। विश्वकपपछि नेपाली टोलीले अन्तर्राष्ट्रिय खेल खेल्दै छ। नेपाल र युएई दुवै टोली भारत र श्रीलङ्कामा सम्पन्न आइसीसी ट्वान्टी-२० विश्वकप खेलेर आएका हुन्।

युएई र नेपाल दुवै ट्वान्टी २० विश्वकपमा समूह चरणबाट बाहिरिएका थिए। ‘हेड टु हेड’मा नेपाल र युएई हालसम्म टि ट्वान्टीमा ११ पटक आमनेसामने भएका छन्। जसमा नेपालले ६ पटक जितेको छ भने युएई पाँच खेलमा विजयी भएको छ।

नेपालको प्लेइङ-११ मा  कुशल भुर्तेल, अर्जुन साउद (विकेटकिपर), सुन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, बासिर अहमद, गुलशन कुमार झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने र हेमन्त धामी छन्।

युएईको प्लेइङ ११ मा कप्तान मुहम्मद वसीम, अदीब उस्मानी, (विकेटकिपर) अलीशान शरफु, हरप्रीत भाटिया, सोहैब खान, अक्षदिप नाथ, मुहम्मद अरफान, खुजैमा बिन तन्भीर, मुहम्मद जुहैब, हैदर अली र जुनैद सिद्दिकी छन्। 

वैशाख ७, २०८३ सोमबार १८:११:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।