धितोपत्र बजारमा कारोबारमै नआएको स्टार माइक्रो र लिबर्टीको  शेयर कसरी किने गृहमन्त्री सुधनले !

धितोपत्र बजारमा कारोबारमै नआएको स्टार माइक्रो र लिबर्टीको  शेयर कसरी किने गृहमन्त्री सुधनले !

काठमाडौं : सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा हिरासतमा रहेका शंकर समूह अनि दीपक भट्टको समूहको सक्रियतामा खुलेको दुई कम्पनी स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा २५-२५ लाख सेयर लगानी गरेका गृहमन्त्री सुधन गुरुङले यी दुवै धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमा स्पष्ट उल्लेख गरेको दाबी गरे।

विवादित समूहको सक्रियतामा आएको कम्पनीमा लगानी भएको विषय उनले सम्पत्ति विवरणमा प्रस्ट खुलाएका छैनन्। सेयर लगानी रहेका अन्य कम्पनीको नाम खुलाए पनि उनले यी दुई कम्पनीबारे भने उल्लेख गरेका छैनन्।

यसबारे प्रमाणसहित समाचार प्रकाशित भएपछि उनले सोमबार सामाजिक सञ्जालमा स्पष्टीकरण लेख्दै “२५ लाखको सेयर लुकाइएको” भनिएकोमा सबै सेयर एउटै प्रकृतिका नहुने र आफूले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको तर्क गरेका छन्।

उनले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको र यो लुकाउने होइन, वर्गीकरणको विषय भएको तर्क गरेका छन्। उनले बुझाएको सम्पत्ति विवरणमा तीन कम्पनीमा रहेको लगानी र ती कम्पनीको नाम खुलाएका छन्।

२ करोड ७४ लाख लगानी भएको विषयमा भने उनले धितोपत्र बजारमा कारोबार हुने शेयरहरू उल्लेख गरेका छन्। तर धितोपत्र बोर्डको विवरणमा यी दुवै कम्पनी शेयर कारोबारमा आइसकेका छैनन्।

यसले सर्वसाधारणका लागि आइपिओ जारी गर्न अनुमति मागेको छ जुन अझैँ स्वीकृत नभएको बोर्डको विवरणमा प्रस्ट उल्लेख छ। बोर्डको विवरणमा स्टारले २०८२ मंसिर ९ मा र लिबर्टीको हकमा २०८२ मंसिर २० गते सर्वसाधारणका लागि सेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएको देखिन्छ। आवेदन स्वीकृत भइसकेको छैन।

धितोपत्र बोर्डको कानुन अनुसार सर्वसाधारणको नाममा सेयर जारी गर्ने अनुमति पाएर सेयर जारी भएको तीन वर्षसम्म संस्थापकहरूको सेयर कारोबार हुन सक्दैन। यसलाई लक इन पिरियडको रूपमा लिइन्छ। यसको आधारमा यी दुवै कम्पनीको संस्थापक लगानीकर्ताहरूको सेयर पनि कारोबारमा आएको देखिँदैन।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ मा लकिङ पिरियडसम्बन्धी स्पष्ट व्यवस्था छ। यसमा विवरणपत्र प्रकाशन गरी सार्वजनिक निष्कासन  गरिएका धितोपत्रबाहेक अन्य समूहका धितोपत्रहरू (संस्थापक सेयर) बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन भनेर प्रस्ट उल्लेख गरेको छ।

यसले गृहमन्त्री सुधन धितोपत्र बोर्डमा सर्वसाधारणका लागि सेयर जारी भएपछि वा संस्थापकको सेयर विक्रीको लकिङ पिरियड खुलेपछि उनले लगानी गरेको नभई  यी दुवै कम्पनी स्थापनाकालमा नै संस्थापक लगानीकर्ताको रूपमा आबद्ध रहेको देखिन्छ।

तर उनले यी दुवै कम्पनीमा भएको आफ्नो लगानीलाई पनि धितोपत्र बजारमा कारोबार हुने शेयर भएको दाबी गरेका छन्। उनले दुवै कम्पनीमा आफ्नो लगानी रहेको स्विकारे पनि  कसरी लगानी गरे प्रस्ट खुलाएका छैनन्।

कानुन अनुसार "विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको शेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन" लेखिएको छ।

यसको स्पष्टीकरणमा "यस उपनियमको प्रयोजनको लागि "अन्य समूहको धितोपत्र" भन्नाले संगठित संस्थाले विवरण पत्र प्रकाशन गरी सार्वजनिक निष्कासन गरेको तथा सर्वसाधारण समूहमा रहेको धितोपत्र बाहेक संस्थापक वा अन्य समूहले लिएको धितोपत्र र सो धितोपत्रमा प्रदान गरिएको बोनस वा हकप्रद धितोपत्र समेत सम्झनु पर्छ" भनिएको छ।

धितोपत्र सम्बन्धी कानुनी प्रावधान र धितोपत्र बोर्डमा दुई कम्पनीको सेयर निस्कासनको अनुमतीबारेको विवरण।तर धितोपत्र बिक्री वा हस्तान्तरण गर्न नपाइने गरी तोकिएको समयावधि (लकइन पिरियड) भित्र त्यस्तो संगठित संस्थाको धितोपत्र बिक्री वा हस्तान्तरण नभएको कारणले संगठित संस्था सञ्चालनमा कुनै बाधा व्यवधान उत्पन्न हुन गएमा त्यस्तो शेयरवालाकोबीच धितोपत्र बिक्री वा हस्तान्तरण गर्न बोर्डले स्वीकृति प्रदान गर्न सक्ने प्रावधान छ भने अर्को प्रावधानमा धितोपत्र धारकको मृत्यु भएको अवस्थामा सम्बन्धित हकवालाको नाममा हस्तान्तरण गर्न सकिने उल्लेख छ।

त्यसैले कानुनी प्रावधान अनुसार यी दुई कम्पनीको शेयर किन्दा गृहमन्त्री सुधनले प्रारम्भमै संस्थापक लगानीकर्ताको रूपमा किनेको वा संस्थापक नभएको हकमा उनले शेयर नपाउँदा कम्पनी सञ्चालनमै बाधा पुगेकाले बोर्डबाट स्वीकृत पाएको वा धितोपत्र धारकको मृत्यु भएको अवस्थामा उनी हकवाला भएर शेयर पाएको हुनसक्ने देखिन्छ। तर यसबारे उनले आफ्नो स्पष्टीकरणमा प्रस्ट खुलाएका छैनन्।

उनले फेसबुकमा लेखेका छन् :

२५ लाखको सेयर लुकाइएको” भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छुजुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइनवर्गीकरणको विषय हो। सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन।

फेसबुकमा ऋण छ लेख्छन् तर सम्पत्ति विवरण रित्तै

गृहमन्त्री गुरुङले स्पष्टीकरण लेख्नेक्रममा फेसबुकमा दुवै कम्पनीमा लगानी गरेको रकमको स्रोत ऋण रहेको उल्लेख गरेका छन्। तर उनले बुझाएको र मन्त्रीपरिषद्ले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ऋण लिएको महल नै रित्तो छ। अन्यको हकमा केहीले लिएको ऋण खुलाएका छन्। तर उनले लिएको ऋणबारे केही उल्लेख गरेका छैनन्।

सुधनले बुझाएको सम्पत्ति विवरण फारम जहाँ ऋणको महल रित्तो छ।तर फेसबुकमा उनले लेखेका छन् "अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो,जुन रेकर्डमा नै छ। उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो। अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो।"

सम्बन्धित समाचार

वैशाख ७, २०८३ सोमबार १६:३७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।