पार्टीभित्रको विवादबारे ज्ञानेन्द्र भन्छन्, 'फरक मतलाई दबाए तानाशाही प्रवृत्ति बढ्छ'

पार्टीभित्रको विवादबारे ज्ञानेन्द्र भन्छन्, 'फरक मतलाई दबाए तानाशाही प्रवृत्ति बढ्छ'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीभित्र फरक विचार राख्नेलाई सम्मानका साथ अगाडि बढाउन सक्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूको सम्मान आयोजित कार्यक्रममा उनले पार्टीभित्र फरक विचार राख्नेलाई सम्मानका साथ अगाडि बढाउन नसके तानाशाही प्रवृत्ति आउने सक्ने धारणा राखे। 

उनले भने, "पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानका साथ अगाडि बढाउन सक्नुपर्छ। यदि त्यो सकेनौं भने भोली ममा पनि तानाशाही प्रवृत्ति आउन सक्छ। यो एउटा सिकाइ हुँदै जान्छ। त्यो सिकाइले भोली अप्ठ्यारो अवस्था ल्याउन। त्यसैले अहिले राप्रपाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्छ।"

भ्रष्टाचारको फाइलहरू खुल्दै गर्दा राप्रपाको नेतृत्वकर्ताहरूमाथि प्रश्न नउठेको उनको दाबी छ। "अहिले भ्रष्टाचारका काण्डका फाइलका फाइल आएका छन्। तर राप्रपाको नेतृत्वको माथि अहिलेसम्म एउटा प्रश्न उठेको छैन। किनभने हामी इमान्दारिताका साथ अगाडि बढ्छौं। त्यसमा कोही कसैले पनि आपत्ति नमाने हुन्छ," शाहीले भने।

सरकारले चालेको सकारात्मक कदममाथि साथ दिने र जनताको हित विपरीत काम भए राप्रपाले खबरदारी गर्ने उनले बताए। साथै जनताको विमति पार्टीसँग भन्दा पनि उम्मेदवारसँग भएको उनको भनाई छ। शाहीले अहिले सबैभन्दा बढी राजनीतिक एजेण्डा राप्रपासँग मात्र भएको दाबी गरे।

उनले भने, "यहाँ पार्टीसँग विमति होइन, उम्मेदवारसँग विमति छ। पार्टी नै खत्तम भएको भए एमालेका युवाहरूले कसरी जितेर आउँथे ? खै त जितेर आएको छन्। हामीले कहीँ कतै कम्जोरी गरेको छौं भने आत्मासमिक्षा गरौं र यतिबेला सबैभन्दा बढी कसैसँग राजनीतिक एजेण्डा छ भने त्यो राप्रपासँग मात्रै छ।"

वैशाख ७, २०८३ सोमबार १५:३२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।