नेपाल ‘ए’ को प्रारम्भिक टोली घोषणा, लिग-२ का तीन टोलीसँग भिड्दै

नेपाल ‘ए’ को प्रारम्भिक टोली घोषणा, लिग-२ का तीन टोलीसँग भिड्दै

काठमाडौं : घरेलु मैदानमा ओमान, स्कटल्यान्ड र अमेरिकासँग एकदिवसीय शृंखला खेल्न नेपाल ‘ए’ को ३२ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार टोली सार्वजनिक गरेको हो। आईसीसी विश्वकप लिग-२ का आगामी दुई शृंखला खेल्न नेपाल आउन लागेका यी तीन टोलीसँग नेपाल ‘ए’ ले पनि एकदिवसीय अभ्यास खेल खेल्ने तय भएको छ।

क्यानका अनुसार हालै सम्पन्न प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेलाडीहरूले गरेको प्रदर्शनका आधारमा ‘ए’ टोलीको छनोट गरिएको हो।

टोलीमा दिनेश खरेल, अरनिको यादव, प्रकाश जैशी, नारायण जोशी, विपिन खत्री लगायतका नयाँ र युवा खेलाडीलाई मौका दिइएको छ।

त्यसैगरी, सिनियर राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका हेमन्त धामी, सन्तोष यादव, शेर मल्ल, कुशल मल्ल, सन्दीप जोरा, अनिलकुमार साह, देव खनाल लगायतका खेलाडीहरूलाई पनि समावेश गरिएको छ।

नेपाल ‘ए’ टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी राजु बस्न्यातलाई दिइएको छ भने सहायक प्रशिक्षकमा प्रकाश शर्मा रहेका छन्।

क्यानले खेल तालिका पनि सार्वजनिक गरिसकेको छ। जसअनुसार नेपाल ‘ए’ ले मुलपानी क्रिकेट मैदानमा तीनवटै टोलीसँग दुई-दुई वटा एकदिवसीय खेल खेल्नेछ।

तालिकाअनुसार नेपाल ‘ए’ ले पहिलो दुई खेल ओमानसँग अप्रिल २२ र २४ मा खेल्नेछ। त्यसपछि मे ६ र ९ मा स्कटल्यान्डसँग तथा मे ७ र ११ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि नेपाल ‘ए’ ले गत वर्ष भारत भ्रमण गर्दै आसामसँग टी-२० शृंखला खेलेको थियो।

नेपाल ‘ए’ को प्रारम्भिक टोली :
तृतराज दास, देव खनाल, शंकर राना, इशान पाण्डे, अरनिको यादव, विवेक रानामगर, अनिलकुमार साह, अर्जुन घर्तीमगर, नारायण जोशी, राशिद खान, सन्तोष यादव, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, विशाल पटेल, अर्जुन साउद, प्रतिश जिसी, कुशल मल्ल, युवराज खत्री, विपिन खत्री, दिपेश कँडेल, शेर मल्ल, रुपेश सिंह, शुभ कंसाकार, पवन सर्राफ, सागर ढकाल, दीपक डुम्रे, शाहब आलम, प्रकाश जैसी, सन्दीप जोरा, मयन यादव र अभिशेष गौतम।

वैशाख ७, २०८३ सोमबार १२:०५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।