मकवानपुरमा खोलामा डुबेर ७ वर्षीया बालिकाको मृत्यु
मकवानपुर : मकवानपुरको थाहा नगरपालिका-६, बज्रबाराहीमा खोलामा डुबेर एक बालिकाको ज्यान गएको छ।
मृत्यु हुनेमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ घर भई हाल मकवानपुरको बज्रबाराहीमा बस्दै आएका विकास लिम्बुकी करिब ७ वर्षीया छोरी युनिसा राई रहेकी छन्।
प्रहरीका अनुसार, विकास लिम्बुको परिवार हाल थाहा नगरपालिका-६ स्थित लिफ्टिङ सिंचाइ आयोजनाको काम गर्दै त्यहीँ बस्दै आएको थियो।
आइतबार साँझ करिब ५:३५ बजेतिर युनिसा आफू बस्ने ठाउँबाट करिब १० मिटर दक्षिणतर्फ रहेको बाराहीखोला नजिकै खेल्दै थिइन्। त्यसै क्रममा उनी अचानक खोलामा खसेर डुबेकी थिइन्।
छोरी खोलामा डुबेको देखेपछि आमा बालकुमारी राईले तत्कालै उनलाई पानीबाट निकालेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पालुङ लगेकी थिइन्। तर, उपचारकै क्रममा साँझ ६:३० बजे चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङबाट अपराध घटनास्थल अनुसन्धान प्रहरी टोली घटनास्थल पुगेको थियो। उक्त घटनास्थल इलाका प्रहरी कार्यालय पालुङबाट करिब १२-१३ किलोमिटर पूर्व-उत्तरतर्फ पर्छ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेपछि आइतबार राति पौने ९ बजे मृतक बालिकाको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) पठाएको जानकारी दिएको छ।
वैशाख ७, २०८३ सोमबार १०:११:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।