संकटबाट विश्वकपसम्म पुर्‍याएका रोहितलाई टी२० कप्तानबाट हटाइयो, दीपेन्द्रलाई नयाँ जिम्मेवारी

संकटबाट विश्वकपसम्म पुर्‍याएका रोहितलाई टी२० कप्तानबाट हटाइयो, दीपेन्द्रलाई नयाँ जिम्मेवारी

काठमाडौं : शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले एउटा विज्ञप्ति निकाल्दै कप्तान रोहित पौडेलको जिम्मेवारी खोस्यो। उसले रोहितलाई टी२० कप्तानीबाट मुक्त गरी उक्त जिम्मेवारी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई सुम्पियो।

क्यानले यसलाई ‘कार्यभार व्यवस्थाप’ र स्प्लिट क्याप्टेन्सीको नाम दिए पनि, रोहितको ऐतिहासिक उपलब्धिका बीच गरिएको यो निर्णयले नेपाली क्रिकेट वृत्तमा ठूलो तरंग पैदा गरेको छ। अब टी२० अन्तर्राष्ट्रियमा दीपेन्द्रसिंह ऐरीले टोलीको नेतृत्व गर्नेछन् भने एकदिवसीय क्रिकेटको कप्तानीमा रोहित पौडेल नै कायम रहनेछन्।

सन्दीपको बहिर्गमन र रोहितको उदय
रोहित पौडेलले नेपाली टोलीको कप्तानी त्यस्तो विषम परिस्थितिमा सम्हालेका थिए, जब नेपाली क्रिकेट मैदानभित्र र बाहिर दुवैतर्फ गहिरो संकटमा थियो।

सन् २०२२ को सेप्टेम्बरमा तत्कालीन कप्तान सन्दीप लामिछानेमाथि एक १७ वर्षीया किशोरीले जबरजस्ती करणीको गम्भीर आरोप लगाउँदै उजुरी दिएकी थिइन्। उनीविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै क्यानले उनलाई कप्तान पदबाट निलम्बन गर्यो।

निलम्बन र कानुनी झमेलाका कारण टोली नेतृत्वविहीन भयो। खेलाडीहरूको मनोबल खस्केको थियो भने नेपाल आईसीसी विश्वकप लिग-२ को अंक तालिकामा पुच्छारतिर रहेर एकदिवसीय मान्यता नै गुमाउने खतरातर्फ धकेलिएको थियो।

यस्तो मानसिक दबाब र भताभुङ्ग भएको अवस्थामा सन् २०२२ को नोभेम्बरमा २० वर्षको कलिलो उमेरमा रोहित पौडेलले राष्ट्रिय टोलीको कप्तानीको अभिभारा पाए।

पछि सन्दीपलाई जिल्ला अदालतले दोषी ठहर गरे पनि उच्च अदालत पाटनले निर्दोष ठहर गर्दै सफाइ दियो, तर त्यतिबेलासम्म रोहितले आफूलाई सफल कप्तानका रूपमा स्थापित गरिसकेका थिए।

शून्यबाट शिखरसम्मको यात्रा
कप्तानी सम्हालेपछि रोहित र नवनियुक्त प्रशिक्षक मोन्टी देसाईको सहकार्यमा नेपाली क्रिकेटले जादुमयी पुनरागमन गर्यो।

एकदिवसीय मान्यता जोगाउन बाँकी १२ मध्ये ११ खेल जित्नै पर्ने असम्भव जस्तो देखिने चुनौती नेपालसामु थियो। तर, रोहितको शान्त, परिपक्व र निडर नेतृत्वमा नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर विश्वकप छनोटमा स्थान सुरक्षित मात्र गरेन, नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो पुनरागमनको गाथा रच्यो।

त्यसपछि रोहितको कप्तानीमा नेपालले पछाडि फर्केर हेर्नु परेन। सन् २०२३ को एसीसी प्रिमियर कप जित्दै नेपालले पहिलो पटक एसिया कपमा छनोट भएर भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्तीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पायो।

रोहितकै नेतृत्वमा नेपालले १० वर्षको लामो पर्खाइलाई तोड्दै सन् २०२४ को टी२० विश्वकप खेल्यो भने हालै सम्पन्न २०२६ को टी२० विश्वकपमा पनि नेपालले आफ्नो सशक्त उपस्थिति जनायो। उनले नेपाली टोलीलाई ‘हार स्वीकार्ने टोली’ बाट ‘अन्तिम बलसम्म लड्ने टोली’मा रूपान्तरण गरे।

लयको शिखरमा कप्तानी खोसिनुको विरोधाभास
रोहितलाई टी२० कप्तानीबाट हटाउने निर्णय यस्तो समयमा आएको छ, जब उनी आफ्नो करियरकै उच्च लयमा छन्। अन्तर्राष्ट्रिय मञ्चमा मात्र नभई घरेलु क्रिकेटमा पनि उनको प्रदर्शन लोभलाग्दो छ।

हालै सम्पन्न नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा उनले आफ्नो कप्तानीमा लुम्बिनी लायन्सलाई च्याम्पियन मात्र बनाएनन्, व्यक्तिगत रूपमा सानदार प्रदर्शन गर्दै प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ समेत घोषित भए।

यसरी घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङ र कप्तानी दुवैमा अब्बल देखिएका रोहितलाई कुनै ठूलो असफलता विना नै टी२० को कप्तानीबाट बिदा गरिनुलाई धेरैले क्यानको 'निर्मम' कदमका रूपमा विश्लेषण गरेका छन्।

क्यानको स्पष्टीकरण: भावनामा होइन, प्रणालीमा विश्वास
यति ठूलो उपलब्धीका बावजुद रोहितलाई किन टी२० कप्तानीबाट हटाइयो त? यस विषयमा क्यानले आफ्नो निर्णय विशुद्ध रणनीतिक र दीर्घकालीन सोचमा आधारित रहेको प्रष्ट पारेको छ।

‘हाम्रो खेलकुद’सँगको कुराकानीमा क्यानका सचिव एक जिम्मेवार पदाधिकारीले यस निर्णयको अन्तर्य खुलाउँदै भने, ‘दीपेन्द्र यसअघि नै कप्तान बन्ने दौडमा थिए। रोहित विशेष परिस्थितिमा कप्तान बने। उनी कप्तान भइरहँदा पनि दीपेन्द्रले उनलाई सपोर्ट गरेको हामीले देखेका छौँ। रोहितले टी२० क्रिकेट र नेपाल क्रिकेटमा गरेको योगदान गजबको छ। त्यो निरन्तर हुन्छ भन्नेमा हामी विश्वस्त छौँ। नेपाल टिममा अहिले धेरै कम्पिटिसन छ। रिजल्ट ओरियन्टेड भन्दा पनि लङ टर्ममा के हुन्छ भनेर हामीले हेर्नुपर्ने छ अहिले। सिस्टममा आइसकेपछि इमोसनमा आएर डिसिजन हुँदैन र यो निर्णय पनि इमोसनल भएर लिइएको हैन। तर कप्तान जो भए पनि नेपालले जित्नुपर्यो भन्ने नै हाम्रो उदेश्य हो।’

उनले नेपाली क्रिकेट अब व्यक्ति-केन्द्रित भावनाबाट माथि उठेर प्रणाली-केन्द्रित व्यावसायिकतातर्फ उन्मुख हुन खोजिरहेको बताएका छन्। भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड जस्ता ठूला राष्ट्रहरूको सिको गर्दै क्यानले टी२० मा युवा र आक्रामक शैलीलाई प्रश्रय दिन दीपेन्द्रलाई अघि सारेको हो भने एकदिवसीय जस्तो परिपक्वता चाहिने फर्म्याटमा रोहितलाई नै विश्वास गरेको हो।

आगामी चुनौती र नयाँ युगको सुरुवात
क्यानको यो ‘स्प्लिट क्याप्टेन्सी’को प्रयोगसँगै नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात भएको छ। आगामी सोमबार र मंगलबार युएईविरुद्ध हुने दुई खेलको टी२० सिरिजमा दीपेन्द्रसिंह ऐरीले आफ्नो नयाँ भूमिकाको परीक्षा दिनेछन्।

यता, रोहित पौडेलले भने अप्रिल २५ देखि सुरु हुने ओमान र युएई सम्मिलित आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा एकदिवसीय टोलीको नेतृत्व सम्हाल्नेछन्, जहाँ दीपेन्द्र उपकप्तानका रूपमा रहनेछन्।

रोहित पौडेलले नेपाली क्रिकेटलाई इतिहासकै सबैभन्दा कठिन मोडबाट उद्धार गरेर विश्वकपको उज्यालो मञ्चसम्म डोर्याएको तथ्य इतिहासमा स्वर्णिम अक्षरले लेखिने निश्चित छ।

तर, क्यानले भावनालाई भन्दा प्रणाली र दीर्घकालीन रणनीतिलाई रोज्दै चालेको यो नयाँ र साहसिक कदमले नेपाली क्रिकेटलाई थप व्यावसायिक उचाइ दिन्छ या स्थापित टोलीको सन्तुलनलाई बिथोल्छ, त्यसको जवाफ भने आगामी दिनका नतिजाहरूले नै दिनेछन्।

वैशाख ५, २०८३ शनिबार ०७:५७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।