३६ वर्ष जेठा श्रीमान्को ढुङ्गा प्रहार गरी हत्या, श्रीमतीसहित तीन पक्राउ
बागलुङ : बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले सोमबार श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको छ।
जैमिनी नगरपालिका-१० राङखानी हाडीकोटमा मजदुरी गर्दै आएका लमजुङको क्व्होलासोथार गाउँपालिका-६ का ६२ वर्षीय देउबहादुर सार्कीको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंका अनुसार सार्कीकी श्रीमती २६ वर्षीया लक्ष्मी नेपाली, पोखरा महानगरपालिका-२६ जलधारेका ३८ वर्षीय रामआकाश विश्वकर्मा र मादी गाउँपालिका-३ याङ्गजाकोटका ५६ वर्षीय आसपुरे कामीलाई पक्राउ गरिएको छ।
मृतक सार्कीसहित चारै जना हाडीकोटमा मजदुरी गर्दै आएका थिए। सोमबार बिहान छोरेडाँडाखानी गाउँमा मदिरा सेवा गरेर गर्ने स्थलतर्फ जाँदै गर्दा सामान्य विवाद हुँदा सार्कीलाई तीन जनाले ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक प्रसाईं बताउँछन्। जिल्ला अदालत बागलुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
प्रहरी उपरीक्षक प्रसाईंले भने, “जैमिनीको हाडीकोटमा उनीहरू सबै मजदुरी गर्न आएका रहेछन्, मदिरा सेवा गरी सामान्य झैझगडा हुँदा हत्यासम्मको स्थितिमा पुगेछ, हामीलाई जङ्गलमा मजदुरको शव फेला परेको खबर पाउँदा साथ प्रहरी टोली त्यहाँ पुगेको थियो। राति नै हत्यामा संलग्न भएका तीन जनालाई गाउँबाटै नियन्त्रणमा लिएका हौं।”
मृतक सार्की र उनकी पत्नी नेपालीबीच ३६ वर्षको उमेर अन्तर देखिन्छ। बेला बेलामा श्रीमान्-श्रीमतीबीच सामान्य झगडा पहिलेदेखि नै हुँदै आएको अनुसन्धानमा खुलेको प्रसाईंले बताए।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ। मृतक सार्कीको जेठी श्रीमतीतर्फ दुई छोरी, माइलीतर्फ एक छोरा र हालकी श्रीमतीबाट चार वर्षको छोरा रहेको प्रहरीले जनाएको छ।
जेठ १९, २०८३ मंगलबार २१:२०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।