गृहमन्त्री वालेन्द्र शाहको पहिलो प्रहरी सरुवा : दीपक भट्टसँग जोडिएका एसएसपी होविन्द्रलाई ललितपुरबाट हटाए, काठमाडौंमा दिलीप

गृहमन्त्री वालेन्द्र शाहको पहिलो प्रहरी सरुवा : दीपक भट्टसँग जोडिएका एसएसपी होविन्द्रलाई ललितपुरबाट हटाए, काठमाडौंमा दिलीप

काठमाडौं : हिरासतमा रहेका दीपक भट्ट र साहिल अग्रवाललाई आइप्याड प्रयोग गर्न दिएको र हिरासतमा नराखी प्रहरी कर्मचारीको कोठामा सुताएको आरोपमा अनुसन्धानमा तानिएका एसएसपी होविन्द्र बोगटीको सरुवा भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुख रहेका उनलाई प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षामा सरुवा गरिएको हो। बोगटी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट २०८२ असोजमा ललितपुरको प्रमुखमा सरुवा भएका थिए। प्रहरी कर्मचारीको नियमित सरुवा १२ महिनामा हुने गरेकोमा विवादमा आएपछि ८ महिनामै उनको सरुवा भएको हो। उनको ठाउँमा तुलबहादुर कार्की आएका छन्।

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि प्रहरी हिरासतमा पठाएका उनीहरूले हिरासतमा रहेकै बेलामा बाहिर सम्पर्क गरेको खुलेपछि हिरासत कक्ष बदलेर छानबिन गर्न समिति गठन गरेको थियो। छानबिनको निष्कर्ष भने सार्वजनिक भएको छैन।

प्रहरी नियमावली अनुसार एसएसपी र डिआइजीको सरुवा गृहमन्त्रीले गर्छन्। अहिले प्रधानमन्त्री वालेन्द्र शाहले नै गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका छन्। सोमबार सार्वजनिक भएको ३३ जना एसएसपीको सरुवामा काठमाडौं परिसरमा हेडक्वाटरको मानवस्रोतमा रहेका एसएसपी दिलीप घिमिरेको सरुवा भएको छ।

उपत्यका ट्राफिकमा शान्तिराज कोइरालाको सरुवा भएको छ भने मानव बेचबिखन ब्युरोमा नकुल पोखरेल, लागुऔषध नियन्त्रण ब्युरोमा सुवासचन्द्र बोहरा, बुटवल तालिम केन्द्रमा दयानिधि ज्ञवाली विराटनगर तालिम केन्द्रमा शिव श्रेष्ठको सरुवा भएको छ।  श्रेष्ठ सिआइबीका कार्यरत थिए। उनको नाम काठमाडौं परिसर प्रमुखको रूपमा चर्चामा थियो। सिआइबीमा अनुपम शमशेर जबराको सरुवा भएको छ। 

 काठमाडौं परिसरमा रहेका एसएसपी रमेश थापाको मधेस प्रहरी कार्यालयमा सरुवा भए पनि काजमा प्रहरी प्रधान कार्यालयको अन्वेषणमा राखिएको छ। उनी यस अगाडि प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षक सचिवालयबाट काठमाडौं प्रमुखमा सरुवा भएका थिए।  कृष्ण प्रसाद कोइरालालाई गण्डकी प्रदेशको अपराध नियन्त्रण महाशाखा (पोखरा) पठाइएको छ। उनी लागुऔषध अनुसन्धान ब्युरोमा थिए।

कृष्णप्रसाद पंगेनीको प्रहरी प्रधान कार्यालयको अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखा, कृष्णबहादुर पल्ली मगरको प्रदेश कार्यालय वीरगन्ज,गोविन्द अधिकारीको प्रदेश समन्वय विभाग, जनार्दन जिसीको प्रहरी कल्याण महाशाखा, नवराज अधिकारीको लुम्बिनी प्रदेश कार्यालयमा सरुवा गरेर काजमा साइबर ब्युरोमा सरुवा भएको छ।  लुम्बिनी प्रदेशको बुटवल तालिम केन्द्रमा रहनुभएका सन्तोष सिंह राठौरलाई कर्णालीको सुर्खेत पठाइएको छ।

यसैगरी, नान्तीराज गुरुङको सुपरिवेक्षण तथा अनुगमन, प्रज्वल महर्जनको मधेस प्रहरी तालिम केन्द्र, प्रभु प्रसाद ढकालको मधेसको अपराध नियन्त्रण, प्रवीण धितालको सुदूरपश्चिमको प्रहरी तालिम केन्द्रमा सरुवा भएको छ। विनोद सिलवाल प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको छ।

जेठ १८, २०८३ सोमबार २२:४०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।