प्रधानमन्त्रीको अभिव्यक्तिलगत्तै सुस्तामा भारतीय पक्षको अवरोध, नयाँ तटबन्धको काम रोक्न दबाब

प्रधानमन्त्रीको अभिव्यक्तिलगत्तै सुस्तामा भारतीय पक्षको अवरोध, नयाँ तटबन्धको काम रोक्न दबाब

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले संसद्‌मा ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भनी दिएको विवादित अभिव्यक्तिलगत्तै नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको छ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार आइतबार साँझ ५ बजेतिर हतियारसहित नेपाली भूमिमा प्रवेश गरेका १०/१२ जना भारतीय सुरक्षाकर्मी (एसएसबी) ले सुस्ता गाउँपालिका वडा नं. ५ मा भइरहेको तटबन्धको काम रोक्न दबाब दिएका थिए। एसएसबीको दबाबपछि हाललाई उक्त तटबन्ध निर्माणको काम स्थगित गरिएको छ।

उकेरासँगको कुराकानीमा गाउँपालिका अध्यक्ष उपाध्यायले तटबन्ध निर्माण भइरहेको क्षेत्र नेपाल-भारत सीमाको दशगजा (नो म्यान्स ल्यान्ड) मा नपर्ने र त्यो पूर्ण रूपमा नेपाली भूमिमै रहेको प्रष्ट पारे।

नारायणी नदीको कटान र डुबानबाट सुस्ता बचाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रुपैयाँको लगानीमा यो तटबन्ध निर्माण कार्य अगाडि बढाइएको थियो। कुलमान घिसिङ मन्त्री हुँदा आफैँ सो स्थानको निरीक्षण गरी बजेट विनियोजन गरिएको थियो।

यस घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय बर्दघाट सुस्ता पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले आयोजनाको प्रकृति र सुरक्षा गस्तीका क्रममा भएको संवादबारे थप स्पष्ट पारेका छन्।

उनका अनुसार यो तटबन्ध निर्माण कार्य भरतपुर (चितवन) स्थित जलस्रोत आयोजना अन्तर्गत फरक-फरक ठेक्का प्रक्रियामार्फत अघि बढाइएको हो।

सहायक प्रजिअ भण्डारीले उकेरासँग भने, ‘भरतपुर चितवनले फरक-फरक ठेक्का लगाएको जलस्रोतको एउटा आयोजना छ। जसमा एउटा १ किलोमिटर पुरानो तटबन्धको मर्मत सम्भार गर्ने र अर्को असारसम्ममा सम्पन्न गर्ने गरी १३२ मिटरको नयाँ तटबन्ध निर्माण गर्ने योजना छ। १ किलोमिटरको पुरानो मर्मत सम्भार हो भने १३२ मिटरको चाहिँ नयाँ तटबन्ध हो।’

नयाँ तटबन्ध निर्माण भइरहेको क्षेत्रमा भारतीय सुरक्षाकर्मीले गस्तीका क्रममा असहमति जनाएको भण्डारीले बताए।

‘भारतीय गस्ती हिँडेको क्रममा उक्त क्षेत्र विवादित भएको उल्लेख गर्दै अहिले तटबन्ध नबनाउन उताबाट अनुरोध गरिएको थियो। त्यसबेला भारतीय एसएसबीका १० जनाजति सुरक्षाकर्मी थिए भने नेपालतर्फबाट पनि १३ जनाजतिको गस्ती टोली खटिएको थियो’, सहायक प्रजिअ भण्डारीले थपे।

नेपाली भूमिमै काम भइरहेको अवस्थामा प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीले सुस्तामा दबाब बढाएको स्थानीयको आरोप छ।

प्रधानमन्त्रीको अभिव्यक्तिका कारण भारतीय पक्षको मनोबल बढेको र त्यसैको आडमा नेपाली भूमिमै भइरहेका अत्यावश्यक विकास निर्माणका कामहरूमा समेत बाधा पुग्न थालेको स्थानीय जनप्रतिनिधि र बासिन्दाहरूको गुनासो छ।

जेठ १८, २०८३ सोमबार १२:२६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।