नेपाली क्रिकेटबारे भारतीय क्रिकेट प्रशिक्षक नरेन्द्रको विश्लेषण “वानडे र टेस्टमा बलियो नभएसम्म टी-२० ले मात्र धान्दैन"
काठमाडौं : भारतीय क्रिकेट प्रशिक्षक नरेन्द्र कुमारले नेपाली क्रिकेटमा टी-२० को क्रेज निकै धेरै रहेको भन्दै त्यसले मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभाव बढाउन नसकिने बताए। भारतको रणजी ट्रफी समेत खेलेका उनी अहिले दिल्लीको द्रोणाचार्य क्रिकेट एकेडेमी लगायतमा प्रशिक्षक छन्।
लामो समयदेखि क्रिकेट प्रशिक्षणमा रहेका उनले नेपालका राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, नन्दन यादव लगायतलाई समेत प्रशिक्षण दिएका छन्। दिल्लीमा रहेको उनको प्रशिक्षण स्थलमा अहिले पनि नेपाली खेलाडीहरू प्रशिक्षणरत रहेको उनले बताए।
अहिले अन्डर १४ का खेलाडीलाई प्रशिक्षण दिन नेपाल आएका उनले उकेरासँगको विशेष संवादमा नेपालमा क्रिकेटका प्रतिभाशाली खेलाडीहरू रहेको तर वानडे र टेस्टमा भन्दा सबैमा टी-२० को क्रेज बढी नै रहेको बताए। उनले क्रिकेटमा अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धी हुने हो भने वानडे इन्टरनेशनल र टेस्ट क्रिकेटमा समेत उत्तिकै बलियो हुनुपर्ने बताए।
“नेपाली क्रिकेटमा ट्यालेन्टको कुनै कमी छैन। तर यहाँ टी-२० फर्म्याटको निकै क्रेज रहेछ। जो पनि ब्याट पाए लगत्तै चुट्न खोज्ने गरेको देखेँ,” उनले भने “यदि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रभाव बढाउनु छ भने टी-२० फर्म्याटमा मात्र बलियो भएर हुन्न। वानडे अनि सिरिजमा पनि उत्तिकै अनुभव हुनुपर्छ।”
आफूले रोहित पौडेल अनि नन्दन यादव लगायतलाई छोटो समय प्रशिक्षण दिएको र नेपालमा बेलाबखत आएर नयाँ पुस्तालाई प्रशिक्षण दिएको अनुभवका आधारमा नेपालमा प्रतिभावान् खेलाडीहरू टन्नै रहेको तर उनीहरूलाई निखार्न आवश्यक रहेको बताए।
खेलाडी निखार्न प्रशिक्षणसँगै सबै उमेर समूहको प्रतियोगिता हुनु पर्ने बताउँदै उनले नेपालमा त्यसको अभाव देखेको बताए। भारतमा भारतीय क्रिकेट बोर्डले देशभरबाट प्रतिभावान् खेलाडीहरू छानेर एकेडेमीमा ल्याएर प्रशिक्षण गराउने गरेको र सबै वैकल्पिक खेलाडी तयार पार्ने गरेको भन्दै उनले नेपालमा भने त्यस्तो नदेखिएको बताए।
“खेलाडीमा खुबी भएर मात्र हुन्न। उनीहरू टेक्निकल रूपमा पनि बलियो हुनुपर्छ। यसका लागि प्रशिक्षण अनि प्रतियोगिता दुवै चाहिन्छ,” उनले भने “सरकार अनि क्यानले राष्ट्रिय टिमका लागि मात्रै हैन नयाँ खेलाडी उत्पादनमा समेत ध्यान दिन सक्नुपर्छ अनि मात्र विकास दिगो हुनसक्छ।”
३० वर्ष अगाडि नेपालको र अफगानिस्तानको क्रिकेटको स्तर उस्तै रहे पनि अहिले अफगानिस्तान निकै अगाडि पुगिसकेको र यसको कारण उनीहरुले वान-डे र टेस्टमा समेत गरेको मिहिनेत कारण रहेको बताए। उनले अफगानिस्तानको क्रिकेट बोर्डले भारतीय क्रिकेट बोर्डसँग सहकार्य गरेर भारतमा प्रशिक्षण गराएको बताउँदै नेपालले पनि भारतसँग सहकार्यको प्रयास गर्नुपर्ने सुझाव दिए।
नेपालमा क्रिकेटको राम्रो वातावरण रहेको तर प्रशिक्षण र खेलका लागि भौतिक पूर्वाधार अति न्यून रहेको भन्दै प्रशिक्षण र खेलको संख्यासँगै भौतिक पूर्वाधार बढाउनु पर्ने र त्यसको विचमा प्रशिक्षण र सहयोगका लागि भारतीय क्रिकेट बोर्डसँग सहकार्य गर्नु राम्रो हुने उनले बताए।
उनीसँगको संवादको पूर्ण अंश भिडियोमा
वैशाख ४, २०८३ शुक्रबार १५:२४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।