सभापति चयन गर्न १२ वटा समितिका बैठक बस्दै, ४ बजे सभामुखले सपथ खुवाउने
काठमाडौं : सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक बस्दैछन्। प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई गरी १२ समितिका सभापतिको निर्वाचन हुन लागेको हो।
प्रतिनिधिसभाको अर्थसमितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र सार्वजनिक लेखासमितिको सभापतिमा भरतबहादुर खड्काको मनोनयन दर्ता भएको छ।
महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरीले उम्मेदवारी दर्ता गराएङ्का छन्।
त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा ओजस्वी शेरचन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गुरुप्रसाद बरालको मनोनयन दर्ता भएको छ।
सङ्घीय संसद्को संयुक्त समितिका रूपमा रहेको संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीका सांसद मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी दर्ता भएको छ।
निर्वाचित सभापतिहरूको शपथ आजै अपराह्न ४ः०० बजे हुने भएको छ। उनीहरूलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराउनेछन्।
वैशाख ४, २०८३ शुक्रबार १३:१०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।