लिग-२ त्रिकोणात्मक सिरिजका लागि रोहितको कप्तानीमा टोली घोषणा, विनोद र अर्जुनलाई पनि मौका

लिग-२ त्रिकोणात्मक सिरिजका लागि रोहितको कप्तानीमा टोली घोषणा, विनोद र अर्जुनलाई पनि मौका

काठमाडौं : युएईविरुद्धको टी-२० सिरिजमा विश्राम पाएका नियमित कप्तान रोहित पौडेल एकदिवसीय टोलीमा भने फर्किएका छन्।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र ओमानबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहितको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

टी-२० टोलीमा नपरेका सिनियर खेलाडीहरू एकदिवसीय टोलीमा फर्किएका छन् भने घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले उचित इनाम पाएका छन्। टोलीको उपकप्तान दीपेन्द्र सिंह ऐरी नै कायम रहेका छन्।

अर्जुन र विनोद टोलीमा
यसपटक टोली छनोटमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तथ्याङ्कलाई मुख्य आधार बनाइएको प्रस्ट देखिन्छ। पीएम कपमा सानदार प्रदर्शन गरेका युवा ब्याटर अर्जुन कुमाल र अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।

गण्डकी प्रदेशबाट खेलेका युवा खेलाडी अर्जुनले पीएम कपका ९ इनिङ्समा ८४.०० को उच्च औसतसहित प्रतियोगिताकै सर्वाधिक ५०४ रन बनाएर आफ्नो ‘कन्सिस्टेन्सी’ प्रमाणित गरेका थिए।

त्यसैगरी, त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले ८ इनिङ्समा ५०.२५ को औसतमा ४०२ रन जोड्दै आफ्नो लय र अनुभव देखाएका थिए। पीएम कपमा एपिएफ क्लबबाट ९ इनिङ्समा ५७.१२ को औसतसहित ४५७ रन बनाएका आसिफ शेख पनि टोलीमा स्वाभाविक रूपमा अटाएका छन्।

सिनियर खेलाडीको पुनरागमन र रिजर्भ बेन्च
टी-२० टोलीबाहिर रहेका अनुभवी फास्ट बलरद्वय सोमपाल कामी र करण केसीका साथै भरपर्दा स्पिनर ललित राजवंशी एकदिवसीय टोलीमा फर्किएका छन्।

सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बशिर अहमद, गुलसन झा र नन्दन यादवले पनि १५ सदस्यीय टोलीमा स्थान बनाएका छन्।

क्यानले यस सिरिजका लागि ५ जना खेलाडीलाई रिजर्भ (वैकल्पिक) मा राखेको छ। जसमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाल रहेका छन्।

अमेरिका र स्कटल्यान्ड सिरिजको ‘अडिसन’
खेलाडीहरूका लागि त्रिवि मैदानमा हुने यो सिरिज केवल लिग-२ को अङ्क जोड्ने माध्यम मात्र नभएर आगामी भविष्य तय गर्ने खुड्किलो पनि बन्नेछ।

यही सिरिजमा खेलाडीहरूले गर्ने प्रदर्शनको मूल्याङ्कन गर्दै नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुने आगामी सिरिजका लागि टोली घोषणा गरिनेछ। तसर्थ, टोलीमा परेका प्रत्येक खेलाडीलाई आफूलाई प्रमाणित गर्नुपर्ने दबाब र अवसर दुवै छ।

नेपाली टोली (१५ सदस्यीय):
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बशिर अहमद, गुलसन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी।

रिजर्भ खेलाडी: हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाल।

वैशाख ४, २०८३ शुक्रबार १२:०७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।