नियमित कप्तान रोहित पौडेलसहित सोमपाल र करण नै टोलीबाहिर, युएईविरुद्धको टी-२० सिरिजमा दीपेन्द्रलाई कप्तानी
काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।
घोषणा गरिएको टोलीमा ठूलो हेरफेर गर्दै नियमित कप्तान रोहित पौडेललाई नै बाहिर राखिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको १५ सदस्यीय टोलीमा रोहित पौडेल अटाएका छैनन्।
फर्ममा नरहेका रोहितलाई विश्राम दिइएको हो वा टोलीबाट हटाइएको हो भन्नेबारे क्यानले आधिकारिक रूपमा केही खुलाएको छैन। रोहितको अनुपस्थितिमा अनुभवी अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई टोलीको कप्तानी सुम्पिएको छ।
सन्दीप लामिछाने टोलीमा, युवा खेलाडीलाई मौका
दीपेन्द्रको नेतृत्वमा घोषणा भएको टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने समावेश छन्। त्यसैगरी, नियमित सदस्यहरू कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख र गुलसन झाले टोलीमा स्थान बनाएका छन्।
यसपटक टोलीमा केही नयाँ र बेन्चमा रहेका खेलाडीहरूलाई पनि प्रशस्त मौका दिइएको छ। विकेटकिपर ब्याटर अर्जुन साउद र आक्रामक ब्याटर लोकेश बम टोलीमा फर्किएका छन्।
त्यस्तै, बशिर अहमद, नन्दन यादव, सन्तोष यादव, हेमन्त धामी, साहब आलम र शेर मल्लले १५ सदस्यीय टोलीमा स्थान पक्का गरेका छन्।
रिजर्भमा तीन खेलाडी
क्यानले यस सिरिजका लागि तीन जना खेलाडीलाई रिजर्भ (वैकल्पिक) सूचीमा राखेको छ। तीव्र गतिका बलर प्रतिश जि.सी., नारायण जोशी र रासिद खान रिजर्भमा रहेका छन्। आवश्यक परेको खण्डमा उनीहरूलाई टोलीमा समावेश गरिनेछ।
नियमित कप्तान रोहित पौडेलसहित आसिफ शेख, सोमपाल कामी, करण केसी जस्ता सिनियर खेलाडीहरू नभएको अवस्थामा दीपेन्द्रको कप्तानीमा टोली मैदान उत्रन लागेको हो।
वैशाख ४, २०८३ शुक्रबार ११:४४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।