खाना खाँदाखाँदै अचानक पेट दुखेका टिप्पर चालकको मृत्यु

खाना खाँदाखाँदै अचानक पेट दुखेका टिप्पर चालकको मृत्यु

मकवानपुर : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित एक क्रसर उद्योगमा कार्यरत एक टिप्पर चालकको अचानक बिरामी परी मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ घर भएका ३५ वर्षीय मदन गौतम रहेका छन्। उनी इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित ‘मच्छ नारायण रोडा उद्योग’ मा टिप्पर चालकका रूपमा कार्यरत थिए।

प्रहरीका अनुसार, वैशाख ३ गते राति करिब ९:१० बजेको समयमा खाना खाइरहेका बेला गौतमलाई अचानक कडा पेट दुखेको थियो।

बिरामीले पेट दुख्यो भनेर जानकारी गराउनासाथ सिस्नेरी प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक (सई) रामप्रसाद यादवको कमाण्डमा खटिएको टोलीले उनलाई तत्काल उद्धार गरी सिस्नेरी प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएको थियो।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि क्रसर उद्योगका म्यानेजर नवराज भण्डारीको साथ लगाएर उनलाई राति नै काठमाडौं रिफर गरिएको थियो। काठमाडौंस्थित वयोधा अस्पतालमा पुर्याइएपछि राति १०:३० बजे चिकित्सकले गौतमलाई मृत घोषणा गरेका थिए।

मृत्यु भएको खबर वैशाख ४ गते बिहान २ बजे मात्रै सिस्नेरी प्रहरीलाई प्राप्त भएको थियो। प्रहरीका अनुसार मृतक गौतमको शरीरमा कुनै पनि बाहिरी घाउचोटपटक देखिएको छैन।

मृत्युको यकिन कारण पत्ता लगाउन शवको पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्ज पठाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

वैशाख ४, २०८३ शुक्रबार ०९:१४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।