घरेलु मैदानमा नेपालको अग्निपरीक्षा, आठ खेलले तय गर्नेछ विश्वकपको भविष्य

घरेलु मैदानमा नेपालको अग्निपरीक्षा, आठ खेलले तय गर्नेछ विश्वकपको भविष्य

काठमाडौं : एक महिनाभित्र घरेलु मैदानमा खेलिने ८ खेलले सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकप यात्रामा नेपालले यस्तो निर्णायक मोड तय गर्ने भएको छ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले वैशाख १२ देखि जेठ ९ सम्म घरेलु मैदानमा दुईवटा त्रिकोणात्मक श्रृंखला खेल्दैछ। यी खेलहरूमा आउने नतिजाले नेपाल सिधै विश्वकप छनोटमा पुग्ने वा कठिन ‘प्ले-अफ’ खेल्नुपर्ने भन्ने निश्चित गर्नेछ।

पहिलो श्रृंखलामा अप्रिल २५ देखि ५ मेसम्म नेपालले ओमान र यूएईसँग खेल्नेछ। ओमान तालिकाको तेस्रो र यूएई आठौँ स्थानमा छन् भने दोस्रो श्रृंखलामा १२ मेदेखि २२ मेसम्म तालिकाको शीर्ष दुई टोली अमेरिका र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

आईसीसी विश्वकप लिग-२ मा सहभागी ८ टोलीले कुल ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछन्। प्रतियोगिताको अन्त्यमा शीर्ष ४ मा रहने टोलीहरू सिधै ‘विश्वकप क्वालिफायर’मा पुग्नेछन्, जुन विश्वकप यात्राको अन्तिम खुड्किलो हो। 

पुच्छारका ४ टोलीका लागि पनि विश्वकपको ढोका पूरै बन्द त हुँदैन, तर उनीहरूले ‘क्वालिफायर प्ले-अफ’ मार्फत अर्को एउटा अतिरिक्त र कठिन बाटो तय गर्नुपर्ने हुन्छ।

नेपालको वर्तमान अवस्था र चुनौती
नेपालले हालसम्म २० खेल खेलिसकेको छ, जसमा मात्र ५ जित, १३ हार र २ नतिजाविहीन सहित १२ अंक मात्र बटुलेको छ। तालिकामा नेपालको स्थिति निकै कमजोर देखिए पनि आगामी ८ खेलबाट थप १६ अंक जोड्ने अवसर नेपालसँग छ।

गत नोभेम्बरमा भएको त्रिकोणात्मक श्रृंखलामा नेपालले आफ्ना चारै खेल हारेको थियो, जसमा यूएईसँगका दुई हार पनि सामेल थिए। त्यसैले, यसपटक ओमान र यूएईविरुद्ध बदला लिँदै अंक तालिका सुधार गर्ने ठूलो दबाब रोहितको टोलीमाथि छ।

दोस्रो श्रृंखलामा तालिकाको शीर्ष दुई टोली अमेरिका र स्कटल्याण्डसँगको भिडन्त नेपालका लागि झनै चुनौतीपूर्ण हुनेछ। यद्यपि, घरेलु मैदान र दर्शकको साथ नेपालका लागि बलियो पक्ष बन्न सक्छ।

के फेरि दोहोरिएला इतिहास?
नेपाली क्रिकेट समर्थकहरूका लागि अघिल्लो लिग-२ साइकलको सम्झना अझै ताजा छ। त्यतिबेला पनि नेपाल करिब-करिब बाहिरिने अवस्थामा पुगेको थियो। तर, अन्तिम १२ खेलमध्ये ११ खेल जितेर नेपालले चामत्कारिक रूपमा शीर्ष ४ मा स्थान सुरक्षित गरेको थियो।

अहिलेको कठिन मोडमा नेपाललाई फेरि त्यस्तै ‘चामत्कारिक’ प्रदर्शनको खाँचो छ। टी-२० विश्वकपको पछिल्लो अनुभव र घरेलु मैदानको फाइदा उठाउँदै नेपालले आफ्नो एकदिवसीय लय फिर्ता गर्ने अपेक्षा गरिएको छ।

वैशाख ३, २०८३ बिहीबार १०:२०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।