मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर धादिङमा एक मजदुरको मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर धादिङमा एक मजदुरको मृत्यु

धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक सडक मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा चितवनको इच्छाकामना गाउँपालिका-१ घर भई हाल धादिङमा सडक मजदुरी गर्दै आएका ३३ वर्षीय दिपक चेपाङ रहेका छन्।

प्रहरीका अनुसार, मध्यरात १२ बजे त्रिपुरासुन्दरी गाउँपालिका-१ टारीबेशीस्थित सडक छेउमा रहेको जस्ताले छाएको ट्रस (अस्थायी टहरो) भित्र मोबाइल चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

उनी नीलकण्ठ नगरपालिका-१० मा सडक मजदुरका रूपमा काम गर्दै आएका थिए।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई सँगै रहेका साथी मन्दिप चेपाङको सहयोगमा राति २:४० बजे प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार पुर्याइएको थियो।

त्यहाँ प्राथमिक उपचार गरेपछि अवस्था गम्भीर रहेका कारण राति ३ बजे थप उपचारका लागि जिल्ला अस्पताल धादिङबेंसी रेफर गरिएको थियो।

तर, बिहान ४ बजे जिल्ला अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। 

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सल्यानटारबाट प्रहरी वरिष्ठ हवल्दार रामेश्वर अर्यालको नेतृत्वमा ४ जनाको टोली घटनास्थल पुगेको थियो।

हाल मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल धादिङको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

वैशाख २, २०८३ बुधबार ०९:३३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।