नुवाकोटमा ४० वर्षीय पुरुष आफ्नै कोठामा मृत फेला
विदुर : नुवाकोटको विदुर नगरपालिका-१, ढुंगेमा एक ४० वर्षीय पुरुष आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन्। स्थानीय रामप्रसाद अधिकारीका छोरा नवराज अधिकारी मंगलबार बिहान मृत भेटिएका हुन्।
प्रहरीका अनुसार बिहान करिब ९ बजे आफन्तले नवराजलाई आफ्नै कोठामा मृत देखेपछि शव बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए।
बिहान ९:३० बजे प्रहरी सहायक निरीक्षक (असई) सुदामा प्रसाद यादवको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतक सुत्ने कोठामा रगत देखिएको प्रहरीले जनाएको छ। मृतक नवराज विगतदेखि नै लागुऔषध दुर्व्यसनीमा फसेको बुझिएको छ। यद्यपि, उनको मृत्युको यकिन कारण भने खुल्न सकेको छैन।
घटनाको प्रकृति हेर्दा थप अनुसन्धान आवश्यक देखिएपछि मुचुल्का संकलन तथा सुक्ष्म अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) अनुप गुरुङको कमान्डमा ७ जनाको अर्को टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का उठाई दिउँसो १२:२० बजे शवलाई पोस्टमार्टमका लागि त्रिशुली अस्पताल, नुवाकोट पठाएको थियो। अस्पतालमा पोस्टमार्टम सकिएपछि सोही दिन साँझ ५ बजे मृतकका दाजुले शव बुझेर लगेका छन्।
मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
वैशाख २, २०८३ बुधबार ०९:०६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।