दुई वर्षपछि लगातार दुई खेल जित्न सफल चेन्नई, अजिंक्य रहाणेलाई १२ लाख जरिवाना
एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले हराएको छ।
यो जितसँगै चेन्नईले ठीक दुई वर्षपछि लगातार दुई खेल जित्न सफल भएको छ। जितपछि चेन्नई ४ अंकसहित अंक तालिकाको पुच्छारबाट माथि उक्लिएको छ भने कोलकाता अझै जितविहीन छ।
२०२५ को आईपीएलमा चेन्नईले लगातार दुई खेल जित्न सकेको थिएन। १४ मध्ये जम्मा ४ खेलमा जित निकालेको चेन्नई गतवर्ष अंकतालिकाको पुच्छारमा थियो।
चेन्नईको घरेलु मैदान चेपकमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा १९२ रनको बलियो योगफल तयार पारेको थियो।
कप्तान ऋतुराज गायकवाड चाँडै आउट भए पनि आयुष म्हात्रे र सञ्जु स्यामसनले विस्फोटक ब्याटिङ गरे। म्हात्रेले १६ बलमै ३८ रन बनाए। चेन्नईले सुरुवाती ६ ओभर (पावरप्ले) मै ७२ रन जोडेको थियो।
जवाफमा १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले भने पावरप्लेमा जम्मा ३६ रन मात्र बनाउन सक्यो।
चेन्नईका बलर अन्शुल कम्बोज र खलिल अहमदले खतरनाक ब्याटरहरू फिन एलेन र सुनिल नारायणलाई चाँडै आउट गरेपछि कोलकाता दबाबमा परेको थियो।
सुरुवाती झट्कापछि क्रिजमा आएका कोलकाताका कप्तान अजिंक्य रहाणे (२२ बलमा २८ रन) र अंगकृष रघुवंशी (१९ बलमा २७ रन) ले निकै सुस्त ब्याटिङ गरे।
त्यसपछि चेन्नईका स्पिनर नूर अहमद र अकिल हुसेनले कोलकाताको ब्याटिङ लाइनअप ध्वस्त पारे। नूर अहमदले उत्कृष्ट बलिङ गर्दै रहाणे, क्यामरन ग्रिन (पहिलो बलमै शून्य रनमा आउट) र रिन्कु सिंहको महत्त्वपूर्ण विकेट लिए।
नूरले ४ ओभरमा २१ रन दिएर ३ विकेट झारे भने अकिल हुसेनले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए। अन्तिम ५ ओभरमा ८६ रन चाहिएको असम्भव जस्तै अवस्थामा पुगेको कोलकाता अन्ततः ३२ रनले पराजित भयो।
यसैबीच, तोकिएको समयमा बलिङ पूरा गर्न नसकेको (स्लो ओभर रेट) कारण कोलकाता नाइट राइडर्सका कप्तान अजिंक्य रहाणेलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। यस सिजनमा कोलकाताको यो पहिलो गल्ती हो।
वैशाख २, २०८३ बुधबार ०८:४५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।