बालेन राजमा पनि भत्किएन स्वास्थ्य उपकरण खरिद सेटिङ, भरतपुर अस्पतालको एक करोड ८८ लाखको खरिदमा देखियो मिलेमतो

बालेन राजमा पनि भत्किएन स्वास्थ्य उपकरण खरिद सेटिङ, भरतपुर अस्पतालको एक करोड ८८ लाखको खरिदमा देखियो मिलेमतो

काठमाडौं : एमाले होस् या कांग्रेस वा तत्कालीन माओवादी। मधेसवादी हुन् या एकीकृत समाजवादी। जुन जुन दलले स्वास्थ्य मन्त्रालयको नेतृत्व पाए तीनले स्वास्थ्य सामग्री तथा उपकरण खरिदलाई व्यवस्थित र पारदर्शी हैन मिलेमतोलाई नै प्राथमिकता दिए।

केन्द्रदेखि स्थानीय तहको मातहतमा रहेका स्वास्थ्य संस्थाबाट हुने स्वास्थ्य उपकरण तथा सामग्रीको अधिकांश खरिद निश्चित सप्लायर्सको स्वार्थमा अगाडि बढे। यो क्रम सुशासन र जबाफदेहिताको एजेन्डासहित सरकारमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको बालेन्द्र शाह नेतृत्वको सरकार बन्दा पनि रोकिने संकेत देखिएन।

त्यसको बलियो उदाहरण हो भरतपुर अस्पताल अगाडि बढाएको एक करोड ४० लाखको ‘ल्याप्रोस्कोपी टावर (४के) सिस्टिम’ र ४८ लाखमा ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी) मेसिन’ खरिदको टेन्डर।

उकेराले सो टेन्डरका सबै कागजपत्रहरूको अध्ययन गर्दा यी दुवै मेसिनको प्राविधिक र आर्थिक दुवै पाटो चाहेकै निश्चित मेसिन उत्पादक कम्पनीको नेपाली सप्लायर्सलाई टेन्डर दिनेगरी अगाडि बढेको देखियो। यसको प्राविधिक स्पेशिफिकेशनका मापदण्ड समेत गोलमाल रहेको खुल्यो।

भरतपुर अस्पताल नेतृत्वले ‘ल्याप्रोस्कोपी (४के) स्टिम’ उपकरण किन्न गरेको टेन्डरको प्रावधान तथा  स्पेशिफिकेशनका मापदण्डहरू जर्मनको मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’लाई लक्षित गरेर बनाएको देखियो। यसले खरिद प्रक्रिया नै कार्ल स्टोर्जको नेपाली सप्लायर्सलाई दिनेगरी अगाडि बढाइएको देखियो।

‘कार्ल स्टोर्ज’ कम्पनीको नेपाली एजेन्टका मालिक मेडिकल व्यवसायी अमर श्रेष्ठ हुन्। उनी यस अगाडि नै भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेका बदनाम सप्लायर्स हुन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले किनेको सिटी स्क्यान मेसिनमा मिलेमतो गरेको भन्दै अख्तियारले प्रतिष्ठानको तत्कालीन उपकुलपति संगीता राज भण्डारी र श्रेष्ठसहित १९ जना विरुद्ध माघ १५ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सामान्यतः श्रेष्ठले ‘हिमालयन मेडिकल टेक्नोलोजी प्रालि (एचएमटी)’बाट टेन्डर प्रस्ताव गर्ने गरेको देखिन्छ। स्थानीय फर्म जुन प्रयोग गरे पनि सरकारी अस्पतालमा ‘कार्ल स्टोर्ज’को ल्याप्रोसकोपीको टेन्डर श्रेष्ठकै सेटिङ अनुसार उनैले पाएका उदाहरणको रूपमा भरतपुर अस्पताल र निजामती कर्मचारी अस्पताललाई नै लिन सकिन्छ।

यही मिलेमतो अनुसार भरतपुर अस्पताल नेतृत्वले टेन्डर गरी खरिद प्रक्रिया अगाडि बढाएको ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी) मेसिन’को स्पेशिफिकेशन पनि उसैगरी सेटिङ अनुसार नै लक्ड गरेको देखिन्छ। उकेराको खोजमा  अस्पताल नेतृत्वले मेसिन उत्पादक कम्पनी ‘भ्याटेक’लाई लक्षित गरेर प्राविधिक स्पेशिफिकेन बनाइ उसैको नेपाली सप्लायर्सलाई ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी) मेसिन’को टेन्डर दिने रणनीति लिएको देखिन्छ।

‘भ्याटेक’को नेपाली सप्लायर्स कम्पनी ‘खैलुङ कालिका’ले नै यो टेन्डर प्रस्ताव गर्न सक्ने देखिन्छ। तर, फर्म जुन प्रयोग गरे पनि ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी) मेसिन’को यो टेन्डर ‘भ्याटेक’कै नेपाली सप्लायर्सलाई दिनेगरी खरिद प्रक्रिया अगाडि बढेको देखिएको छ।

‘ल्याप्रोस्कोपी (४के) स्टिम’  र ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी)’ दुवै  मेसिनको खरिद प्रक्रियाको मुख्य सेटिङकर्ता निवर्तमान निमित्त अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) डा. कृष्णप्रसाद पौडेल हुन्। खरिदको यो सेटिङमा अस्पतालका करार बायोमेडिकल इन्जिनियर तुलसी खनालको सहयोगी भूमिका देखिन्छ। खरिद एकाइ तथा  प्राविधिक कमिटी, अस्पतालको लेखा  र प्रशासन प्रमुखको समेतको सहमतिबिना खरिद सेटिङ सम्भव हुँदैन।

डा. पौडेलले भरतपुर अस्पतालमा लामो समयदेखि  खरिद सेटिङमा एकछत्र राज गर्दै आएका अर्का बदनाम पात्र हुन्। प्रायः जो स्वास्थ्यमन्त्री आए पनि उनी अस्पताल प्रमुखमा टिकिरहन्छन्। उनी दसौँ तहका हुन्।

२०७५ असोज देखि २०७६ असार, २०७८  भदौ देखि २०८० कात्तिक ७ र २०८१ जेठदेखि २०८२ चैत २५ सम्म गरी डा. पौडेल तीन पटक भरतपुर अस्पतालको प्रमुख भएको देखिन्छ। उनको कार्यकालमा भएका अधिकांश खरिदमा मिलेमतो देखिन्छ।

चैत २६ मा डा. विश्वबन्धु बगाले अस्पताल प्रमुख बनेर गएका छन्। डा. बगाले भरतपुरको अस्पताल प्रमुख भएको दोस्रो पटक हो। यसअघि २०७६ जेठदेखि करिब डेढ महिना अस्पताल प्रमुखका रूपमा काम गरेका थिए। यस अघि डा. बगाले गण्डकी प्रदेशको स्वास्थ्य सचिव थिए।

तर, चैत १८ मा स्वास्थ्य मन्त्रालयले डा. विश्वबन्धु बगालेलाई भरतपुर अस्पतालमा पदस्थापन गरे पनि डा. पौडेलले नछोडेपछि पदस्थापन भएको आठौँ दिन चैत २६ मा मात्रै बल्ल डा. बगालेले अस्पताल प्रमुखका (प्रमुख मेडिकल सुपरिटेन्डेन्ट)का रूपमा जिम्मेवारी सम्हालेका छन्। डा. बगालेले अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेपछि डा. पौडेल अस्पतालको निमित्त निर्देशकबाट स्वतः हटेका छन्। उनी हटे पनि उनले अगाडि बढाएको मिलेमतोको खरिद भने उस्तै देखियो।

यसरी बदनियत राखेर पौडेलले बढाए खरिद

भरतपुर अस्पतालले २०८२ चैत ३ (२०२६, मार्च १७) मा ‘ल्याप्रोस्कोपि टावर (४के) सिस्टिम’ र ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी) मेसिन’ खरिद गर्नेगरी टेन्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडि बढाएको छ।

अस्पतालले यी दुवै मेसिन खरिदका लागि २०८२ चैत २२ (२०२६, अप्रिल ५) मा ‘प्रि–बिड’ मिटिङको समय तोकेको थियो। प्रि–बिड मिटिङमा सप्लायर्स कम्पनीहरूले स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्। त्यसपछि आवश्यकता अनुसार टेन्डर गर्ने संस्थाले स्पेशिफिकेशन संशोधन गर्न सक्छ।

यी मेसिनको ‘प्रि–बिड’ मिटिङपछि प्राविधिक स्पेशिफिकेशनका केही बुँदा संशोधन गर्दै चैत २४ मा अस्पतालले सूचना प्रकाशित गर्यो। प्राविधिक स्पेशिफिकेशन संशोधन गर्दै अस्पतालले प्रकाशित गरेको सूचनामा निमित्त मेडिकल सुपरिटेण्डेन्टका रूपमा डा. पौडेलको हस्ताक्षर छ। जबकि  स्वास्थ्य मन्त्रालयले चैत १८ मा नै डा. विश्वबन्धु बगालेलाई डा. पौडेलको ठाउँमा (प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बनाएर) पठाइसकेको थियो। डा. बगालेलाई पठाएपछि निमित्त निर्देशकको रूपमा रहेका डा. पौडेलले स्वतः अस्पताल प्रमुखको जिम्मेवारी छोड्नुपर्नेमा उनले छाडेनन्। जिम्मेवारी पाएका पनि हाजिर गर्न गएनन्।

डा. पौडेलले मेसिनको प्राविधिक स्पेशिफिकेशन संशोधन गरेर चैत २४ मा सूचना प्रकाशित गर्न लगाए। २५ गते अस्पतालको वार्षिक उत्सव कार्यक्रम मनाउँदा उनै पौडेल प्रमुखको भूमिकामा बसे। डा. बगाले २६ गते अस्पतालको प्रमुखको रूपमा हाजिर भएपछि डा. पौडेल अस्पताल प्रमुखबाट हटे।

अस्पताल नेतृत्वले २०८३ वैशाख ३ (अप्रिल १६)को दिउँसो १२ बजे सम्ममा ‘ल्याप्रोस्कोपि टावर (४के) सिस्टिम’ र ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी) मेसिन’ टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकेको छ भने सोही दिन दिउँसो एक बजेलाई टेन्डर खुल्ने मिति तोकेको छ।

भरतपुर अस्पतालले टेन्डर गरेको ‘ल्याप्रोस्कोपि टावर (४के) सिस्टिम’ टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘बीएच-एनसीबी-गुड्स-३८-२०८२-०८३’ भने ‘ओर्थोप्यान्टामोग्राम मेसिन वीथ सेफालोग्राम (ओपीजी वीथ सेप) टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘बीएच-एनसीबी-गुड्स-३९-२०८२-०८३’ हो।

बदनामलाई दिन लक्ड गरियो ‘ल्याप्रोस्कोपी सिस्टिम’

भरतपुर अस्पतालले टेन्डर गरेको ‘ल्याप्रोस्कोपि टावर (४के) सिस्टिम’को प्राविधिक स्पेशिफिकेशन हेर्दा उत्पादक जर्मन कम्पनी ‘कार्ल स्टोर्ज’लाई नै लक्षित गरेर उसैको नेपाली सप्लायर्स कम्पनीलाई टेन्डर दिनेगरी प्राविधिक स्पेशिफिकेशन बनाएको प्रस्टै देखिन्छ।

प्राविधिक मात्रै हैन आर्थिक रूपमा पनि रूपमा समेत ‘कार्ल स्टोर्ज’को मूल्यलाई लक्षित टेन्डर बजेटको व्यवस्थापन गरी टेन्डर निकालेर उसकै नेपाली सप्लायर्सलाई टेन्डर दिने रणनीति लिएको समेत देखिन्छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘१.१’ हेर्दा मेसिन उत्पादक जर्मन कम्पनी ‘कार्ल स्टोर्ज’को ‘इमेज १ एस’ मोडललाई लक्षित गरेर मापदण्ड बनाएको देखिन्छ। तर, कम्पनी ‘कार्ल स्टोर्ज’ नै भए पनि टेन्डर प्रस्ताव गर्ने क्रममा मोडल भने परिवर्तन गर्न पनि सक्ने देखिन्छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘२.२’ मा ‘४के क्यामेरा हेड र एचडी अर बेटर आइसिजी क्यामेरा हेड इनबिल्ट अर सेप्रेट’ भन्ने प्रावधान राखिएको छ। यो बुँदा पनि ‘कार्ल स्टोर्ज’को ‘इमेज १ एस रुबिना’ मोडललाई लक्षित गरिएको देखिन्छ।

बुँदा नम्बर ‘२.३’ मा ‘लिड लाइट सोर्स वीथ फाइबर अप्टिक केवल वीथ आइसीजी–१ सेट’ उल्लेख छ। यो बुँदा हेर्दा ‘कार्ल स्टोर्ज’ बाहेकका अधिकांश उत्पादक कम्पनीका मेसिन प्राविधिक चरणमा नै फालिने देखिन्छ।

बुँदा नम्बर ‘२.५’ मा ‘इनुसुफ्ल्याटर वीथ हिटिङ ग्यास’ उल्लेख छ। यो बुँदाबाट पनि ‘कार्ल स्टोर्ज’लाई नै बढी लक्षित गरिएको देखिएकाले अन्य उत्पादक कम्पनीको ल्याप्रोसकोपी मेसिनको प्राविधिक स्पेशिफिकेशनलाई नै प्राविधिक छनोटको चरणमा नै अयोग्य बनाउने रणनीति लिएको देखिन्छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘२.८’ मा ‘अल दी प्रोसेरर, लाइट सोर्स, क्यामेरा हेड, इन्सुफ्लाटर, ट्रली÷चार्ट, टेलिस्कोप सुड बी फ्रम सेम म्यानिफ्याक्चरिङ कम्पनी’ उल्लेख छ। यो बुँदामा उल्लेख भएका मापदण्ड हेर्दा ‘कार्ल स्टोर्स’को मेसिनको मूल्यसँग मात्रै मिल्नेगरी लक्षित गरेर उसैको नेपाली सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति लिएको देखिन्छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.८’ मा ‘फोकल लेन्थ फर जुमः एप्रोक्स. १३–२९ एमएम अर जुम अप टु २एक्स अर बेटर’ उल्लेख छ। यो बुँदा हेर्दा ठ्याक्कै ‘कार्ल स्टोर्ज’को क्यामेरा हेडको ‘इमेज१ एस’ मोडलमा भएको क्याटलगसँग मिलेको देखियो। सो क्याटलगमा ‘फोकल लेन्थ–१९ एमएम’ उल्लेख छ।

बुँदा नम्बर ‘८.१’ मा ‘सुड अलसो भिडियो चार्ट÷ट्रली फ्रम सेम मेनुफ्याक्चर एन्ड सुड कम वीथ इन्टरनल इलेक्ट्रिकल्स एन्ड बिल्ट इन आइशोलेटिङ ट्रान्सफर्मर इन ट्रली’ उल्लेख छ। यसको अर्थ मेसिनको आन्तरिक पाटपूर्जादेखि ट्रली समेत एउटै उत्पादक कम्पनीले बनाएको हुनुपर्ने भन्ने हुन्छ। जुन कार्ल स्टोर्जलाई नै लक्षित गरेर प्राविधिक स्पेशिफिकेशन बनाएर उसैको नेपाली सप्लायर्सलाई टेन्डर दिने रणनीति लिएको देखिन्छ।

यति मात्रै हैन। यसअघि पनि भरतपुर अस्पताले नै २०८० जेठ २२ मा  टेन्डर आह्वान गरेर ‘कार्ल स्टोर्ज’कै ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’ एउटा (एक सेट) खरिद गरेको थियो। भरतपुर अस्पतालले एक करोड ६४ लाख ९८ हजार (एक करोड ४६ लाख प्लस भ्याट) यो मेसिन खरिद गरेको अस्पतालले उकेरालाई जानकारी दिएको थियो।

त्यसैगरी निजामती कर्मचारी (सिभिल)अस्पतालले पनि २०८० चैत २१ मा मूल्य अभिवृद्धि कर सही चार करोड ९८ लाख ५५ हजार पाँच सय ५४ मा  ‘कार्ल स्टोर्ज’कै दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’ खरिद गरेको थियो।

यी दुवै अस्पतालमा श्रेष्ठकै सेटिङ अनुसार मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’को नेपाली सप्लायर्स ‘हिमालय मेडिकल टेक्नोलोजी प्रालि(एचएमटी)ले टेन्डर पाएको थियो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिदको प्रतिवादी बनेकाले हिमालयन मेडिटेक प्रालिका प्रमुख अमर श्रेष्ठले सो फर्मको नामबाट टेन्डर प्रस्ताव नगरी अन्य कम्पनीलाई प्रतिनिधि बनाउने सम्भावना देखिन्छ। तर उत्पादक मेसिन भने उनी नै एजेन्ट रहेकोलाई पास गर्नेगरी प्राविधिक स्पेशिफिकेशनसहितका मापदण्ड बनाइएको छ।

ओपीजीको पनि यसरी बनाइयो लक्ड स्पेशिफिकेशन

भरतपुर अस्पताल नेतृत्वले ‘ल्याप्रोस्कोपि टावर (४के) सिस्टिम’को मात्रै प्राविधिक स्पेशिफिकेशन लक्ड गरेको छैन। ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी) मेसिन’को प्राविधिक स्पेशिफिकेशन पनि अस्पताल नेतृत्वले उसैगरी लक्ड गरेको देखिएको छ।

प्राविधिक स्पेशिफिकेशनको अध्ययन गर्दा अस्पताल नेतृत्वले कोरियन मेसिन उत्पादक कम्पनी ‘भ्याटेक’लाई लक्षित गरेर प्राविधिक स्पेशिफिकेन बनाएर उसैको नेपाली सप्लायर्सलाई ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी) मेसिन’को टेन्डर दिने रणनीति लिएको प्रस्टै देखियो।

स्पेशिफिकेशन नै गोल मोटल तरिकाले बनाएर ‘भ्याटेक’को नेपाली सप्लायर्सलाई नै टेन्डर दिने रणनीतिले प्राविधिक स्पेशिफिकेशन तयार गरेको देखिन्छ। ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी)को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.२’ मा ‘स्क्यान टाइम’को विषयमा उल्लेख भएको मापदण्ड ठ्याक्कै मेसिन उत्पादक कम्पनी ‘भ्याटेक’को मापदण्डसँग लक्ड भएको देखियो।

बुँदा नम्बर ‘४.४’ मा ‘फोकल स्पट ०.५’ हुनुपर्ने उल्लेख छ।  जुन ‘भ्याटेक’को  क्याटलगमा भएको (फोकल स्पट ०.५) बुँदा हुबहु कपिपेष्ट गरेर स्पेशिफिकेशनमा राखेको देखिन्छ।

ओपीजीको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘५’ मा जेनेरेटर तथा ट्युब सम्बन्धी मापदण्ड राखिएको छ। मेसिन उत्पादक कम्पनी ‘भ्याटेक’को क्याटलगमा यही प्रावधान राखिएका बुँदा भेटियो।

यी त केही उदाहरण मात्रै हुन्। अस्पतालले टेन्डर गरेको ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी)को प्राविधिक स्पेशिफिकेशनका विभिन्न बुँदाहरू मेसिन उत्पादक कम्पनी ‘भ्याटेक’को क्याटलगमा भएका बुँदाहरू उस्तै देखिए।  यसरी हेर्दा अस्पताले नेतृत्वले बदनियत राखेरै ‘भ्याटेक’कै नेपाली सप्लायर्सलाई टेन्डर दिनेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरिदिएको प्रस्टै देखिन्छ।

मिलेमतोमा निरन्तर बदनाम श्रेष्ठ

विभिन्न देशमा उत्पादित मेसिनको नेपाली सप्लायर्स रहेका श्रेष्ठ स्वस्थ प्रतिस्पर्धा भन्दा पनि मिलेमतोबाट टेन्डर पार्न सक्रिय रहेको विभिन्न खरिद प्रकरणले देखाउँछ। एक त उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद गर्दा सात करोड ३१ लाख अनियमितता गरेको आरोपमा प्रतिवादी छन्।

राप्तीमा भएको खरिद विरुद्ध  .डा. संगीता सिंह भण्डारी र हिमालयन मेडिटेक प्रालिका मालिक अमर श्रेष्ठ सहित २० जना विरुद्ध विशेष अदालतमा दायर भएको मुद्दा टुंगिएको छैन। एक वर्ष अघि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा पनि प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर जर्मनको मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’कै नेपाली सप्लायर्स (एचएमटी)ले करिब चार करोडमा दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को  टेन्डर पाउने करिब निश्चित भएको थियो। तर, सो विषयमा उकेराले सप्रमाण खुलासा गरेपछि २०८२ जेठमा विभागले अघि बढाएको सो टेन्डर रुद्ध भएको थियो।

विश्वस्त स्रोतका अनुसार अहिले नेशनल ट्रमा सेन्टरले अगाडि बढाएको सिटीको टेन्डर समेत उनै श्रेष्ठलाई सहज हुनेगरी अगाडि बढाइएको छ। त्यसमा ट्रमाका निर्देशक रुद्र मरासिनी र बायोमेडिकल इन्जिनियर सुरेश महर्जनको मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढेको स्रोतले जानकारी दियो।

ट्रमामा एमआरआई र सिटीको टेन्डर प्रक्रिया अगाडि बढेको छ। मिलेमतोमा हुने खरिदमा डा मरासिनी र बायो मेडिकल इन्जिनियर सुरेश दुबै पटक पटक जोडिदै आएका छन्।

सम्बन्धित समाचार

वैशाख १, २०८३ मंगलबार २१:५६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।