कांग्रेसको ‘जरा अभियान’ सुरू, गगनले भने- ‘सक्नेले सहयोग गर्नुहोस्, नसक्नेले मलाई डिस्टर्ब नगर्नुहोस्’
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्र व्यापक सुधार (ग्रान्ड रिफर्म) को घोषणा गर्दै ‘जरा अभियान’ सुरु गरेका छन्।
मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आफ्नो क्रियाशील सदस्यता नवीकरण र डिजिटल अद्यावधि गर्दै थापाले यो एक महिने अभियानको शुभारम्भ गरेका हुन्।
अभियानको उद्घाटन गर्दै नेता थापाले पार्टीको विधान र अनुशासनलाई सबैले मान्नुपर्नेमा जोड दिए।
उनले स्पष्ट शब्दमा चेतावनी दिँदै भने, ‘जसले आफ्नो क्रियाशील सदस्यता अद्यावधि गर्दैन, ऊ नेपाली कांग्रेसको सदस्य रहँदैन। विधानले नै यो कुरा स्पष्ट गरेको छ।’
आगामी महाधिवेशनमा सहभागी हुन र पार्टीको जिम्मेवारीमा रहन यो प्रक्रिया अनिवार्य गरिएको छ।
कांग्रेसले यस पटक सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गरेको छ। थापाले आफैँ फारम भरेर प्रणालीमा आबद्ध भएको जानकारी दिँदै अब सदस्यहरूको मोबाइलमा ‘ओटीपी’ आउने र त्यसकै आधारमा सदस्यता प्रमाणीकरण हुने बताए।
उनले सबै केन्द्रीय सदस्य र नेताहरूलाई बैशाख १५ गतेभित्र आ-आफ्नो वडामा पुगेर सदस्यता अद्यावधि गर्न निर्देशन समेत दिएका छन्।
पार्टीभित्रको आन्तरिक कलह र खिचातानीप्रति लक्षित गर्दै थापाले कडा टिप्पणी गरे।
उनले भने, ‘म पार्टीको जिम्मेवारीमा छु। जिम्मेवारीमा भएको मान्छे विनम्र र लचिलो हुनुपर्छ, जुन मैले आफ्ना नेताहरूबाट सिकेको छु। तर मेरो विनम्रतालाई कमजोरी नठानियोस्। यो काम सम्पन्न गर्न सक्नेले मलाई सहयोग गर्नुहोस्, नसक्नेले कृपया मलाई डिस्टर्ब नगर्नुहोस्।’
कार्यक्रममा बोल्दै थापाले देशको पछिल्लो राजनीतिक र आर्थिक अवस्थाबारे पनि चर्चा गरे।
नयाँ सरकारले गर्ने विधि र संविधानसम्मत काममा कांग्रेसको साथ रहने बताउँदै उनले सुशासन र शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर हुनुपर्ने बताए। विशेषगरी मध्यपूर्वको तनावका कारण नेपाली श्रमिक र रेमिट्यान्समा पर्न सक्ने असरबारे उनले चिन्ता व्यक्त गरे।
यो अभियानको मुख्य उद्देश्य पार्टीलाई आगामी निर्वाचनका लागि तयार पार्नु र प्रतिपक्षको भूमिकालाई सशक्त बनाउनु रहेको उनले बताए।
वैशाख मसान्तसम्म चल्ने यो अभियानले कांग्रेसलाई जग (जरा) देखि नै बलियो बनाउने विश्वास लिइएको छ। सदस्यता नवीकरणसँगै पार्टी विधान अनुसार वडा कार्यालयमा पुगेर शपथ लिनुपर्ने व्यवस्थाले कार्यकर्तामा अनुशासन र जिम्मेवारीबोध गराउने थापाको दाबी छ।
वैशाख १, २०८३ मंगलबार १३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।