बादलको बाेलीबारे ‘एक्सन’ लिन एमालेको आकस्मिक सचिवालय बैठक बस्दै

बादलको बाेलीबारे ‘एक्सन’ लिन एमालेको आकस्मिक सचिवालय बैठक बस्दै
तस्बिर- पीएमओ नेपाल

काठमाडौं : एमालेको आकस्मिक सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ।

प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यावाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिलाई लिएर केही पदाधिकारीको दबाबमा आकस्मिक सचिवालय बैठक बस्न लागेको हो।

उपाध्यक्ष विष्णु पौडैलले बादलले बोलेको विषयमा पार्टीको नीति र मान्यताविपरीत रहेको प्रष्ट्याएका छन्। त्यस्तै अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति आलोचना गरेका छन्।

उपाध्यक्ष पौडेलले आजको बैठकले गम्भीर छलफल गर्ने र उचित निर्णय लिने अपेक्षा गरेको बताएका छन्। बादलको अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेमा आन्तरिक आलोचना बढेको छ।

थापाले बिहीबार संसद बैठकमा भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा जेनजी आन्दोलन गरिएको आरोप लगाएका थिए। उनले फागुन २१ गते आम निर्वाचनमार्फत ‘नीलो क्रान्ति’ लाई वैधानिकता प्रदान गरिएको टिप्पणी गरेका थिए।

‘चैत १३ गते भव्य धार्मिक अनुष्ठानसहित बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहजीलाई म नेकपा एमालेको तर्फबाट धेरै-धेरै बधाई भन्न चाहन्छु’, उनले भनेका थिए।

यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा कसको निर्णायक भूमिका रह्यो भन्ने स्पष्ट पार्न चाहेको भन्दै यसमा मुख्यतयाः नेपाली सेना, कर्मचारीतन्त्र (ब्युरोक्रेसी), सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको भूमिका निर्णायक रहेको उनले टिप्पणी गरेका थिए।

‘यस जादुमय विजयका लागि बाह्य रूपमा कसले निर्णायक भूमिका खेल्यो भन्ने कुरा असंख्य तथ्यले स्पष्ट पारेका छन्। अदृश्य शक्तिहरू, एआई, एल्गोरिदम र गोयबल्स शैली अपनाउनेहरूले राष्ट्रियता, लोकतन्त्र र समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरे। देश जलाउने र राष्ट्रिय पहिचान मेटाउने पात्रहरूलाई महानायक बनाउने ती अदृश्य पात्रहरूले बाह्य रूपमा निर्णायक भूमिका खेलेका छन्’, उनले भनेका थिए।

चैत २०, २०८२ शुक्रबार ०८:०४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।