बुटवलको यातायात व्यवस्था कार्यालयबाट दुई जना विचौलिया पक्राउ
बुटवल : यातायात व्यवस्था कार्यालय, बुटवल परिसरमा सेवाग्राहीसँग कमिसन लिँदै आएका दुई जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
छिटो काम गरिदिने बहानामा आर्थिक लेनदेन भइरहेको सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्रौटाका २५ वर्षीय सरोज खनाल र गुल्मी छत्रकोट गाउँपालिका घर भई हाल बुटवल-१३, बेलबास बस्दै आएकी ३७ वर्षीया कुसुम मरासिनी रहेका छन्।
उनीहरूले सेवाग्राहीलाई प्रक्रिया छिटो गराइदिने भन्दै रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखी थप अनुसन्धान अघि बढाइएको छ।
कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार उनीहरूमाथि कमिसन कारोबारमार्फत सेवाग्राही ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
प्रहरीले पछिल्लो समय यातायात कार्यालयभित्र हुने अनियमितता तथा विचौलियाको गतिविधि नियन्त्रण गर्न निगरानी कडा बनाएको जनाएको छ।
चैत २०, २०८२ शुक्रबार ०७:२९:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।