प्रतिनिधि सभाका सभामुखका लागि मनोनयन दर्ता आज
काठमाडौं : प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरू हुँदैछ। सत्तारुढ दल रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरिसकेको छ।
आइतबार हुने निर्वाचनको सार्वजनिक कार्यतालिका अनुसार आज शुक्रबार बिहान ११ देखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी संसद् सचिवालय, सिंहदरबारमा मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
साढे २ देखि उम्मेदवारको सूची प्रकाशन गरिने छ। दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले पार्टी उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरिसकेको छ। १८२ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बनेको रास्वपाबाहेक अन्य दलबाट सभामुखमा मनोनयन पर्ने सम्भावना कम छ।
राष्ट्रियसभा उपाध्यक्ष पदको लागि भने चैत २३ गते निर्वाचन हुँदैछ।
चैत २०, २०८२ शुक्रबार ०७:२३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।