धर्नामा बसेका कांग्रेसी नेता भन्छन्– क्रियाशील सदस्यता विवाद टुंगोमा पुर्याउने गरी वार्ता भएको छैन 

धर्नामा बसेका कांग्रेसी नेता भन्छन्– क्रियाशील सदस्यता विवाद टुंगोमा पुर्याउने गरी वार्ता भएको छैन 

पार्टी कार्यालय पुगेबाटै कार्यालयको प्रांगणमा र मुख्य प्रवेशद्वार छेउछाउ विरोधस्वरूप राताकाला अक्षरका फ्लेक्स टाँगेर विरोधमा बसेकाहरू भेटिन्छन्।

कारण– क्रियाशील सदस्यता विवाद। यो दृष्य देखिन थालेको झण्डै दुई साता भइसक्यो। दिउँसोको चर्को घाम होस् वा बर्खे झरी, उनीहरू डगमगाएका छैनन्, खपेरै बसेका छन्।

कांग्रेसको महाधिवेशनको पूर्वसर्तको रूपमा रहेको क्रियाशील सदस्यता वितरणमा देखिएको विवादका कारण प्रदेश २ का ६ जिल्लाका नेता र कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना सुरु गरे। यसरी विरोधमा बस्नेहरूमा धनुषा, रौतहट, बारा र सर्लाहीका कांग्रेसी कार्यकर्ता छन्। तर, विवाद अझै टुंगोमा पुग्न सकेको छैन। न उनीहरूको माग पूरा हुन सक्यो न कांग्रेसले सदस्यता विवाद टुंग्याएर महाधिवेशन नै अगाडि बढाउन सकेको छ। 

कांग्रेसले भोलि (साउन १२) बाट वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो। तर, क्रियाशील सदस्यता विवादका कारण कांग्रेसले उक्त अधिवेशन स्थगित गरिसकेको छ। 

०००

बिपी स्मृति भवनको प्रांगणमा बाराका कार्यकर्ता त्रिपालमुनि भेटिन्छन्। सिँढी चढेर पार्टी कार्यालयको मुख्य प्रवेशद्वार बाहिरै बायाँतर्फ धर्ना बसेका बाराका कार्यकर्ता र दायाँतर्फ दुई समूह आमरण अनशन बसेका छन्। भित्रपट्टि दायाँबायाँ सलाइनसहित आमरण अनशन बसेका छन्। 

बायाँतर्फ नेपाली कांग्रेस धनुषाका तर्फबाट डा. चन्द्रमोहन यादव, रामपल्टन शाह र दिनेश नायकले अनशन सुरु गरेको सोमबार नवौं दिन भइसकेको छ।

दायाँतर्फ सर्लाही कांग्रेसका तर्फबाट अनशन बसेको पनि छ्रैटौं दिन पुग्यो। सँगै नेपाली कांग्रेस, रौतहटको तर्फबाट रिले अनशन सुरु भएको पनि चौथो दिन भइसक्यो। यहाँ विभिन्न समूह गरेर ६ समूह अनशनमा बसेका रहेछन्। धर्ना सुरु भएयता केन्द्रीय नेताहरू पार्टी कार्यालय आएका छैनन्। 

पार्टीको बैठक कि बालुबाटारमा बस्छ कि त सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा। समयभित्र महाधिवेशन नभए कांग्रेसको वैधानिकता बाँकी रहँदैन। यो चिन्ता पार्टी कार्यालयमा धर्नामा बसेका नेता–कार्यकर्ताको मुहारमा बढ्ता देखिन्छ। ठूला नेतामा भने यसको खासै चिन्ता देखिँदैन। 

यसै बेला कांग्रेसलाई सरकार सम्हाल्ने अवसर पनि आइलागेको छ।

००० 

केही दिनअघि बसेको पदाधिकारी बैठकले धर्नामा बसेका कार्यकर्ताको माग पूरा गर्न भन्दै पार्टी सहमहामन्त्री डा. प्रकाशसरण महत र नेता डा. रामसरण महतलाई दिएको थियो। पार्टीले यो जिम्मेवारी दिएपछि उनीहरू एक पटक मात्र भेट्न आए पनि विवाद टुंगोमा पुर्याउने वार्ता नभएको धर्नामा बसेका नेता–कार्यकर्ता बताउँछन्। 

अनशन सुरु भएदेखि पार्टी सभापति शेरबहादुर देउवा सहितका ठूला नेता पार्टी कार्यालय नै आउन छाडेको उनीहरूको गुनासो छ। 

दिउँसो साँढे २ बजे हामी पार्टी कार्यालय पुग्दा अनशन तोडाउने गरी वार्ता भइरहेको चर्चा चलिरहेको थियो। 

धनुषाबाट अनशनमा साथ दिन आएका रवि रञ्जनले हामीलाई वार्ता जारी रहेको र छिट्टै सु–समाचार लिएर जाने गरी केही समय कुर्न अनुरोध गर्दै थिए। 

‘वार्ता भइरहेको छ। म आफै वार्तामा बसेर आएको आजै टुंग्याउने कुरा छ तपाईंहरू एकछिन बस्नुहोस्। समाचार लिएर जानुहोला,’ उनले भने।   

तर, वार्ताका लागि अनशन स्थलमा थिए केन्द्रीय सदस्य वीरबहादुर बलायर। उनले सभापति देउवाको निर्देशनपछि पार्टीको जिम्मेवार सदस्यको हिसावले आफू समस्या समाधानका लागि आएको बताए। 

बलायरसँगको वार्तापछि धनुषाबाट अनशनमा बसेका रामपल्टन शाह र दिनेश नायकले विधिसम्मत सदस्यता वितरण गर्ने सहमतिपछि अनशन तोड्न तयार भएको बताए। 

केन्द्रीय सदस्य बलायरले जुस खुवाएर ती दुई जनाको अनशन तोडाए पनि। तर, सँगै अनशनमा बसेका पूर्वराष्ट्रपति रामवरण यादवका छोरासमेत रहेको डा. चन्द्रमोहन यादव तयार भएनन्। सोमबार दुई जनाबाहेक अरुले अनशन तोड्न मानेनन्। 

वार्ताका लागि पदाधिकारी बैठकले तोकेको महतद्वय नआएर उनी आउनुबारे बलायरसँग प्रश्न राख्यौं। 

‘उहाँहरूले समस्या समाधान गर्न नसकेर तपाईं आउनुभएको हो ?’ उनले जवाफमा भने, ‘त्यसो होइन। उहाँहरूले पनि काम गरिरहनुभएको छ। म पनि पार्टीको जिम्मेवार सदस्य भएकाले सभापतिज्यूको निर्देशनमा विवाद समाधानमा समन्वय मात्र गरिरहेको छु।’ 

०००

सानेपामा तीन प्रकारले क्रियाशील सदस्यताको टुंगो विधि र विधानसम्मत टुंग्याउन माग राख्नेहरू छन्। अनशन बस्नेहरू रिले र आमरन अनशन बसेका छन्। बाराबाट आउनेहरू भने धर्नामा बसेका छन्। बाराका कांग्रेसी कार्यकर्ता दुई वटा धर्ना बसिरहेका छन्। 

बारा कांग्रेसले अनशन थालेको १६ औं दिन भइसक्यो। वार्ताका लागि आएका केन्द्रीय सदस्य बलायर दुई अनशनकारीले अनशन तोडेपछि अरु अनशनकारीलाई पनि अनशन तोडेर महाधिवेशन केन्द्रित हुनुपर्ने बताउँदै थिए। उनी कांग्रेसको विधान अनुसार नै सदस्यता वितरण हुने आश्वासन दिँदै थिए।

‘कसैमाथि अन्याय हुने छैन। अरु अनशनकारी साथीहरूले पनि अनशन तोडेर महाधिवेशनमा केन्द्रित हुनुपर्छ। सायद भोलिसम्म छानबिन समितिले सदस्यताको वितरण पार्टीलाई हस्तान्तरण गर्छ होला,’ उनी भन्दै थिए। 

बलायरसँगै धनुषाका पूर्वसांसद प्रेमकृष्ण शाह पनि सभापति देउवाले विधान विपरीतकालाई छुट नदिने सन्देश दिएको भन्दै वार्तामार्फत सहमतिमा आउन आग्रह गरिरहेका थिए। सहमतिमा ल्याउन प्रयास गरिरहेका बलायरले आमरण अनशनमा रहेका सर्लाही कांग्रेससँग पनि सहमतिको प्रयास गरे। उनीहरू सदस्य संख्या हुनुपर्ने भन्दा बढी भएको सुनाइरहेको थिए। बलायरले उनीहरूका कुरा सुने। तर, सोमबार अनशन तोड्ने गरी सहमति बन्न सकेन। सहमति नहुने भएसँगै बलायर बाटो लागे, एकै छिनमा हामी पनि। 

अनशन र धर्ना भने जारी छ।
 

साउन १२, २०७८ मंगलबार ००:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।