राप्रपाको लाइनमा रवीन्द्र मिश्र : गणतन्त्र आयातित, सङ्घीयता खारेजी

राप्रपाको लाइनमा रवीन्द्र मिश्र : गणतन्त्र आयातित, सङ्घीयता खारेजी

काठमाडौँ : वैकल्पिक राजनीतिको प्रारम्भ गर्ने भन्दै साझा पार्टी निर्माण गरेका रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिक लाइनसँग मिल्दोजुल्दो प्रस्ताव सार्वजनिक गरेका छन्।

आफ्नो व्यक्तिगत वेबसाइटबाट सार्वजनिक गरिएको 'स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी धर्म निरपेक्षताबारे जनमत सङ्ग्रह' सम्बन्धी प्रस्तावमा उनले हिन्दु राज्यको स्थापना, संघियताको खारेजीको पक्षमा वकालत गर्दै गणतन्त्रलाई आयातित भनेका छन्।

पछिल्लो समय एमाले सांसद महेश बस्नेतले एमालेमा सङ्घीयता र धर्म निरपेक्षताबारे छलफल गर्न पार्टीमा प्रस्ताव दर्ता गराएका थिए।

साझा पार्टी हुँदै अहिले विवेकशील साझा पार्टीका अध्यक्ष रहेका मिश्रलाई प्रारम्भदेखि नै दरबारसँग निकट रहेको आक्षेप लाग्ने गरेको थियो। संयोग, उनले छलफलका लागि सार्वजनिक गरेको प्रस्ताव संवैधानिक राजतन्त्र र हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएको पूर्व पञ्चहरूको पार्टी राप्रपाको राजनीतिक लाइनसँग मिल्दोजुल्दो छ।

उनले सङ्घीयतालाई भ्रष्टाचार र आर्थिक भारको स्रोत र नेपालको अखण्डताको लागि घातक भन्दै यसलाई खारेज गरेर स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्नुपर्ने तर्क अगाडि सारेका छन्।

माओवादीको सशस्त्र विद्रोह र सात राजनीतिक दल र माओवादीको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको उपलब्धिको रूपमा गणतन्त्रको विश्लेषण हुने गरेको छ। मिश्रले भने गणतन्त्रलाई नेपाली आफैले स्थापना गरेको नभई आयातित भएको दाबी गरेका छन्।

'सङ्घीयता र धर्म निरपेक्षताजस्तै गणतन्त्रको आगमन पनि आयातित नै थियो। त्यसका बग्रेल्ती प्रमाणहरू छन्। नेपालका सात दल र माओवादी निमित्त नायक मात्र थिए,' उनले लेखेका छन् 'तर अहिलेको अवस्थामा आइपुग्दा, सङ्घीयता र धर्म निरपेक्षताप्रति धेरै ठुलो जनमानसमा जुन असन्तुष्टि र आक्रोश देखिएको छ, त्यो गणतन्त्रका बारेमा देखिएको छैन।'

उनले पूर्व राजा ज्ञानेन्द्रको पक्षमा वकालत गर्दै उनको स्वीकार्यता उच्च रहेको दाबी गरेका छन्। उनले सार्वजनिक गरेको प्रस्तावमा लेखिएको छ' पूर्व राजा ज्ञानेन्द्र र राजसंस्थाका विरुद्ध असोचनीय स्तरको विष फैलाउँदा पनि विभिन्न जातजाति, भाषा भाषी, क्षेत्र, लिङ्ग, सबै तप्कामा एकताको प्रतिकका रूपमा राजाको स्वीकार्यता उच्च देखिन्छ।'

उनी प्रस्टै धर्मनिरपेक्षताको विपक्षमा उभिएका छन्। उनले 'धर्म निरपेक्षता यो देशको धर्म र संस्कृति मास्नका लागि जस्केलाबाट घुसाइएको' दाबी गर्दै 'देशको धर्म र संस्कृति केवल धर्म र संस्कृतिमा मात्र सीमित नभई त्यो देशको पहिचान, स्वाभिमान र स्वाधीनतासँग पनि जोडिएको हुने तर्क गरेका छन्।

साउन ११, २०७८ सोमबार १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।