उपेन्द्रलाई झुक्याए रेसमले : सत्ता उपयोग गरेर जेलबाट निस्किए तर बसे तटस्थ
काठमाडौँ : जन्मकैदको सजाय काट्न डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका सांसद रेसम चौधरी प्रहरीको सुरक्षा घेरामा सोमबार निर्वाचन आयोग पुगे। उनलाई आयोगमा झिकाउने प्रबन्ध मिलाएका थिए जसपा अध्यक्ष उपेन्द्र यादवले। बिहानैबाट उपेन्द्र समूहले चौधरी आफ्नो पक्षमा रहेको दाबी गरिरहेका थिए। तर सनाखतका जेलबाट आयोग पुगेपछि भने उनी कतै खुलेनन्। नैतिकताले दिएन भन्दै तटस्थ बसे।
जसपामा महन्थ ठाकुर र उपेन्द्र समूहबिच आधिकारिकता विवाद बढेपछि आयोगले बहुमत कसको पक्षमा छ भन्ने निर्णय गर्न ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार हेड काउन्टका लागि आयोगमै बोलाएको थियो।
जेलमै चौधरी कसको पक्षमा भनेर आयोगका कर्मचारीले सनाखत गर्न खोज्दा उनले मानेनन्। आयोग कार्यालयमै जाने अड्डी कसेपछि यादवले उनलाई कारागाबारबाट आयोग ल्याउने प्रबन्ध मिलाएका थिए। आयोगमा महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंह आफै गएका थिए।
तर उनले यादवको अपेक्षा अनुसार उनको पक्षमा उभिनुको साटो नैतिकताले दिएन भन्दै तटस्थ बसिदिए। उनले जसको पक्षमा उभिए पनि दुवैतिरको पार्टी आफ्नै हुने सञ्चारकर्मीमाझ दाबी गरेका थिए। उनले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्त ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह समेत गरेका थिए।
पछिल्लो समय ठाकुर पक्षले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्न मुख्य माग उनै चौधरीको रिहाइलाई बनाएका थिए। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दा ठाकुरले संसद्मा बोल्नेक्रममा समेत चौधरीको नाम लिएका थिए। तर उनले ठाकुरलाई पनि साथ दिएनन्। जेलबाट निस्कनुको उद्देश्य सञ्चारकर्मीसँग कुरा गर्ने मात्र देखियो।
चौधरी टिकापुर घटनामा प्रहरी र नाबालकको हत्या अभियोगमा अदालतले जन्मकैद सुनाएपछि कारागारमा छन्।
साउन ११, २०७८ सोमबार १५:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।