उन्नति कल्चरल भिलेजमा ठमेल बियर गार्डेन सञ्चालनमा
नवलपरासी : नवलपरासीको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा ठमेल बियर गार्डेनको सफ्ट लन्च गरिएको छ। यससँगै चितवन र नवलपरासीमा खानपान, मनोरञ्जन र भेटघाटका लागि नयाँ गन्तव्य थपिएको छ।
उद्घाटन समारोहमा नवलपुरको गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी र आन्तरिक राजस्व विभागका प्रमुख युगल किशोर गौतमलगायत विशिष्ट अतिथि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
नयाँ आतिथ्य र मनोरञ्जनको अनुभव थप्ने उद्देश्यले सञ्चालनमा आएको ठमेल बियर गार्डेनले आगन्तुकहरूलाई आराम गर्न, साथीभाइसँग भेटघाट गर्न र रमाइलो समय बिताउन सहज र आत्मीय वातावरण प्रदान गर्ने बताइएको छ।
सन् २०२१ मा चौधरी फाउन्डेसनको पहलमा स्थापना भएको उन्नति कल्चरल भिलेज, सीजी हस्पिटालिटी अन्तर्गतको एक सांस्कृतिक गन्तव्य हो। नवलपुरको गैँडाकोट नगरपालिका–१२, हर्कपुरमा अवस्थित उन्नति कल्चरल भिलेज नारायणगढ बजार नजिकै करिब ६ बिघा क्षेत्रफलमा फैलिएको छ।
नेपालको कला, साहित्य र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा समर्पित उन्नति कल्चरल भिलेजले विशेषगरी आदिवासी थारू समुदायको कला, परम्परा र संस्कृतिको संरक्षणमा जोड दिँदै आएको छ। साथै, नेपालको मौलिक कला, संस्कृति र पहिचानलाई नयाँ पुस्तामाझ चिनाउने र जीवन्त राख्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
परम्परागत कला, हस्तकला, नृत्य, संगीत, खानपान, भाषा र जीवनशैलीलाई आधुनिक समयसँग जोड्दै नेपालको मौलिक संस्कृति नयाँ पुस्तामाझ पुर्याउनु उन्नति कल्चरल भिलेजको मुख्य उद्देश्य हो। यसले सांस्कृतिक सम्पदाको संरक्षणसँगै सृजनशीलता र स्थानीय समुदायको आर्थिक विकासलाई पनि सँगसँगै अघि बढाउने लक्ष्य राखेको छ।
मंसिर १३, २०८३ आइतबार १४:०६:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।