‘लिउगङ’ निर्माण उपकरणको आधिकारिक वितरकमा ओम्नी मुभर्स
काठमाडौं : निर्माण उपकरण निर्माता कम्पनी ग्वाङ्सी लिउगङ मेसिनरीद्वारा उत्पादित ‘लिउगङ’ (LiuGong) ब्रान्डको नेपालका लागि आधिकारिक वितरकमा ओम्नी मुभर्स प्रालि नियुक्त भएको छ।
यस सहकार्यअन्तर्गत ओम्नी मुभर्सले नेपालका निर्माण, सडक, जलविद्युत् तथा पूर्वाधार विकास क्षेत्रमा लिउगङका उपकरण बिक्री, बिक्रीपछिको सेवा, प्राविधिक सहयोग र स्पेयर पार्ट्स उपलब्ध गराउनेछ।
सन् १९५८ मा चीनको लिउझाउमा स्थापना भएको लिउगङले ह्विल लोडर, एक्स्काभेटर, ब्याकहो लोडर तथा मोटर ग्रेडरलगायत ३० भन्दा बढी शृङ्खलाका निर्माण उपकरण उत्पादन गर्दै आएको छ। कम्पनीका उत्पादन तथा सेवा विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन्।
ओम्नी मुभर्स ओम्नी (काबरा) ग्रुपअन्तर्गतको कम्पनी हो। नेपालको अटोमोटिभ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव रहेको यस ग्रुपले व्यावसायिक सवारीसाधन, विद्युतीय मोबिलिटी, निर्माण उपकरण, वित्तीय सेवा, टायर तथा लुब्रिकेन्टलगायतका क्षेत्रमा काम गर्दै आएको छ।
ग्रुपसँग भारतबेन्ज, चेरी वान्डा, अपोलो टायर्स र भल्भोलिनजस्ता अन्तर्राष्ट्रिय ब्रान्ड आबद्ध छन्।
मंसिर १२, २०८३ शनिबार १०:१७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।