सरकारले समुदाय विभाजन गर्न खोजेको नेवार अगुवाहरूको आरोप, निर्णय नसच्चिए आन्दोलनको चेतावनी

सरकारले समुदाय विभाजन गर्न खोजेको नेवार अगुवाहरूको आरोप, निर्णय नसच्चिए आन्दोलनको चेतावनी

काठमाडौं : नेवार समुदायका ४० वटा थरलाई दलितको सूचीमा समावेश गरिएको विरोधमा समुदायका अगुवा, अभियन्ता र स्थानीय बासिन्दाले काठमाडौंको असन डबलीमा प्रदर्शन गरेका छन्। समाजशास्त्रीय एवं वैज्ञानिक अध्ययनबिनै हचुवाको भरमा गरिएको उक्त निर्णय सोमबारसम्म फिर्ता नलिए मङ्गलबारदेखि चरणबद्ध आन्दोलन थाल्ने उनीहरूले चेतावनी दिएका हुन्।

प्रदर्शनमा सहभागीहरूले नेवार समुदायको विविधता, परम्परागत पेसा र सांस्कृतिक संरचना नबुझी राज्यले एकतर्फी रूपमा सूचीकरण गर्दा सामाजिक सद्भाव र समुदायको आत्मसम्मानमा ठेस पुग्ने बताएका छन्।

प्रदर्शनकारीहरूले ‘ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर’, ‘आयोगको काम सिफारिस गर्ने, हचुवामा होइन प्रमाण हेर्ने’, ‘न अध्ययन, न अनुसन्धान, हचुवाको भरमा शासन सञ्चालन’, ‘विरोध र द्वन्द्व हिंसाको लागि होइन, अधिकार र पहिचानको लागि’, ‘सरकारको स्वेच्छाचारी निर्णय बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

कुनै पनि समुदायको पहिचान र वर्गीकरणसम्बन्धी संवेदनशील नीतिगत निर्णय गर्नुअघि गहिरो अध्ययन र सम्बन्धित समुदायको सहमति अपरिहार्य हुने उल्लेख गर्दै प्रदर्शनमा सहभागी नेपाली कांग्रेस काठमाडौं महानगरका सभापति सुशन वैद्यले सांस्कृतिक पहिचान बोकेको समुदायभित्र सरकारले बिना आधार विभाजन र वर्गीकरण थोपर्न खोजेको आरोप लगाए।

उनले भने, "दलित आयोग थोरै लचक भएर प्रस्तुत भएको छ। आयोगले सरकारलाई निर्णय फिर्ता लिन समन्वय गर्नुपर्छ। यदि निर्णय फिर्ता नभए मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्छौं।"

प्रदर्शनमा सहभागी कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले उक्त निर्णय नेवार समुदायको सांस्कृतिक पहिचानमाथिको आक्रमण भएको बताइन्। नेवार समुदायमा दलित भन्ने वर्ग नै नरहेको उल्लेख गर्दै उनले जीवित देवीको थरसमेत दलित सूचीमा पारिएको उल्लेख गरिन्। सम्बन्धित पक्ष र समुदायसँग समन्वय नगरी नेवार समुदायलाई हेपेर निर्णय गरिएको दाबी गर्दै डा. प्रधानले यसले जातीय द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिइन्।

त्यस्तै, कांग्रेसकी अर्की केन्द्रीय सदस्य सपना राजभण्डारी जोशीले राजपत्रमा प्रकाशित उक्त विषय बिनाअध्ययन र अनुसन्धान ल्याइएको बताइन्। समुदायसँग परामर्श नगरी नागरिकको भावनामाथि खेलबाड र आत्मसम्मानमा ठेस पुऱ्याइएको भन्दै उनले सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिन आह्वान गरिन्।

मंसिर १३, २०८३ आइतबार १४:०५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।