मुद्दा नचलाई दाजुलाई छुटाइदिने भनेर माग गरिएको रकम नदिँदा धम्की दिएको आरोपमा पाँच जना पक्राउ

मुद्दा नचलाई दाजुलाई छुटाइदिने भनेर माग गरिएको रकम नदिँदा धम्की दिएको आरोपमा पाँच जना पक्राउ

काठमाडौं : आफू प्रहरी निरीक्षक भएको बताउँदै मुद्दा नचलाई व्यक्ति छुटाइदिने नाममा दुई लाख रुपैयाँ माग गरेको र रकम नदिँदा धम्की दिएको आरोपमा पाँच जना पक्राउ परेका छन्। 

प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएका व्यक्तिलाई भेट्न गएका भाइलाई काँडाघारी क्षेत्रमा रहेका अन्य केही व्यक्तिले नक्कली प्रहरी निरीक्षक बनेर मुद्दा नचलाई दाजु छुटाइदिने आश्वासन दिँदै दुई लाख रकम माग गरेको र होटेलको खर्च तिर्न भनेका थिए।

रकम तिर्न अस्वीकार गरेपछि फोन तथा म्यासेजमार्फत धम्की दिएर मानसिक र आर्थिक तनाव दिएको भनेर पीडित ती व्यक्तिले सूचना दिएपछि प्रहरीले उनीहरूको खोजिकार्य सुरु गरेको थियो। 

सोही सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९, वीरेन्द्र चोकबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ पर्नेहरूमा काठमाडौंको चाबहिल बस्ने ओखलढुङ्गाको मोलुङका टेकराज श्रेष्ठ, कपन बस्ने रामेछापको लिखुका इन्द्रबहादुर भुजेल र हात्तीडाँडा बस्ने पाल्पाको तानसेनका धिरज रानाभाट रहेका छन्। यस्तै भक्तपुरको दुवाकोट बस्ने सिन्धुपाल्चोकको जुगलका खेलबहादुर मगर र काभ्रेपलाञ्चोकको बनेपा बस्ने सिन्धुलीकै मरिणका हर्क सिंह भोलन पनि पक्राउ परेका छन्। 

उनीहरू पाँचै जनामाथि ‘अभद्र व्यवहार गर्न नहुने कसुर’मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। 

मंसिर १३, २०८३ आइतबार १२:३२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।