हसिनाको स्वदेश फिर्ती अस्वीकृत भएपछि प्रतिबन्धित अवामी लिगद्वारा देशव्यापी बन्दको आह्वान, बङ्गलादेशमा तनाव
एजेन्सी : शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आइतबारदेखि दुई दिने देशव्यापी बन्द आह्वान गरेको छ। बन्दका क्रममा विशेषगरी दक्षिणी क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध गर्ने र आगजनीका घटना भएका छन्।
सरकारले दक्षिणी जिल्लामा थप प्रहरी परिचालन गर्नुका साथै सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) का १२० प्लाटुन देशभर खटाएको छ। बीजीबीका अनुसार फरिदपुरको नौदोबा-भाङ्गा-भाटियापारा राजमार्गमा रुख ढालेर सडक अवरुद्ध गरिएको थियो। अवरोध हटाई सवारी आवागमन सञ्चालन गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ।
हसिनाको गृहजिल्ला गोपालगञ्ज अवामी लिगको प्रभाव क्षेत्र हो। देशका अन्य भागमा पार्टीका कार्यक्रमको प्रभाव कम देखिए पनि त्यहाँ समर्थकहरूले विभिन्न गतिविधि गर्दै प्रदर्शन गरिरहेका छन्।
हसिनाले सन् २०२६ डिसेम्बर १६ मा बङ्गलादेश फर्किने घोषणा गरेकी छन्। तर, मृत्युदण्डको सजाय पाइसकेकी उनलाई यात्रा कागजात वा राहदानी उपलब्ध नगराइने सरकारले जनाएको छ। ढाकाले सुपुर्दगी सन्धिअन्तर्गत उनलाई फिर्ता पठाउन भारतसँग औपचारिक अनुरोध गरेको छ। भारतले भने सुपुर्दगी र यात्रा कागजातसहित स्वदेश फर्किने विषय फरक रहेको जनाएको छ।
हसिनाको घोषणाले बङ्गलादेशमा राजनीतिक तनाव र सुरक्षा चिन्ता बढाएको छ। सन् २०२४ मा विद्यार्थी आन्दोलनबाट सरकार ढलेपछि उहाँ भारत जानुभएको थियो। सन् २०२६ फेब्रुअरी १२ मा भएको निर्वाचनबाट बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्तामा आएको थियो।
मंसिर १३, २०८३ आइतबार १३:२७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।