म्यानमारमा सेनाको विवाह समारोह र विद्यालयमा हवाई आक्रमण गर्दा दर्जनौँको मृत्यु

म्यानमारमा सेनाको विवाह समारोह र विद्यालयमा हवाई आक्रमण गर्दा दर्जनौँको मृत्यु

एजेन्सी : दक्षिणपूर्वी एसियाली मुलुक म्यानमारमा सेनाले गरेको हवाई आक्रमणमा परी दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ। सेनाले देशका विभिन्न स्थानमा रहेका विवाह समारोह स्थल र विद्यालयलाई समेत निशाना बनाएर आक्रमण गरेको हो।

उद्धारकर्ताहरूका अनुसार शनिबार दिउँसो दक्षिणी शान राज्यको मो बाई गाउँमा भइरहेको एक विवाह समारोहमा भएको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य ३५ जना घाइते भएका छन्।

यसअघि बिहीबार मध्य म्यानमारको माग्वे क्षेत्रस्थित इन योन गाउँको एक विद्यालयमा सेनाले हवाई आक्रमण गर्दा कम्तीमा २० जना सर्वसाधारणको ज्यान गएको थियो। म्यानमारको निर्वासित राष्ट्रिय एकता सरकारका अनुसार उक्त आक्रमणमा विद्यार्थी, बाल भिक्षु र शिक्षकहरू मारिएका छन्। उक्त क्षेत्रमा प्रतिरोधी बलहरू सक्रिय रहँदै आएका छन्। आक्रमणबारे म्यानमारको सैन्य सरकारले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

त्यस्तै, शनिबार साँझ पश्चिमी म्यानमारको रखाइन राज्यस्थित म्राउक-उ सहरमा पनि सेनाले हवाई आक्रमण गरेको छ। स्थानीय समयअनुसार राति करिब ८ बजे शहरको आवासीय क्षेत्रमा बम खसालिँदा १० जनाभन्दा बढीको मृत्यु भएको र करिब २० जना घाइते भएको बताइएको छ। यो क्षेत्र सैन्य शासनविरुद्ध लडिरहेको शक्तिशाली जातीय सशस्त्र समूह 'अराकान आर्मी' को नियन्त्रणमा रहेको छ।

सन् २०२१ को सैन्य 'कू' मार्फत आङ सान सु चीको नेतृत्वमा रहेको निर्वाचित नागरिक सरकारलाई अपदस्थ गरेयता म्यानमारमा गृहयुद्ध चर्किएको छ। सेनाले लगभग दैनिकजसो हवाई आक्रमण गर्दै आएको छ। सेनाले आफ्नो नियन्त्रण बाहिर रहेका एनयुजी र जातीय सशस्त्र समूहका क्षेत्रहरूमा गाउँहरू जलाउने र स्थलगत कारबाही गर्ने कार्यलाई तीव्रता दिँदै आएको छ।

अन्तर्राष्ट्रिय न्यायालयले रोहिंग्या अल्पसंख्यकविरुद्ध नरसंहार गरेको ठहर गर्दै म्यानमारलाई दोषी करार गरेको एक हप्तापछि नै यी पछिल्ला आक्रमणहरू भएका हुन्। सन् २०१७ को सैन्य दमनमा हजारौँ रोहिंग्या मारिएका थिए भने ७ लाखभन्दा बढी विस्थापित भएका थिए।

मंसिर १२, २०८३ शनिबार २३:२४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।