सुकुम्वासी फकाउन बोडे पुगेकी भूमिमन्त्री रावल निर्णय नदिई फर्किइन्

सुकुम्वासी फकाउन बोडे पुगेकी भूमिमन्त्री रावल निर्णय नदिई फर्किइन्

काठमाडौं : खानासमेत रोकेर होल्डिङ सेन्टर खाली गर्न दबाब दिइएको विषयलाई लिएर सरकारको चौतर्फी विरोध भएपछि शुक्रबार साँझ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीलाई भेट्न पुगिन्।

काठमाडौं उपत्यकाका नदी किनारका विभिन्न बस्तीबाट विस्थापित गराएर बोडेस्थित होल्डिङ सेन्टरमा पुर्याइएका सुकुमबासीको अवस्था बुझ्न पुगे पनि रावलले उनीहरूको स्थायी बसोबासबारे कुनै ठोस निर्णय भने नदिई फर्किन्।

यसअघि स्थानीय प्रशासनले शुक्रबार दिउँसो साढे दुई बजेभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएपछि सुकुमबासीहरूले खाली थाल ठटाएर सरकारविरुद्ध प्रदर्शन गरेका थिए। त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालनसमेत गरिएको थियो। यद्यपि होल्डिङ सेन्टरमा भने बल प्रयोग भएको थिएन।

होल्डिङ सेन्टर खालि गर्न अल्टिमेटम दिएपछि सरकारले चर्को आलोचना खेप्न पर्यो। सोही विषयमा छलफल गर्न भनेर मन्त्री रावल भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोदकुमार खड्कालाई समेत लिएर साँझ ६ बजे बोडे पुगेकी थिइन्। शुक्रबार मधेश प्रदेशको मुसहर बस्तीमा पुगेर लालपुर्जा दिने आश्वासन दिइरहेकी रावलले बोडेमा पुगेर यहाँका सुकुमबासीहरुलाई भने लालपुर्जाको आश्वासन दिइनन्।

होल्डिङ सेन्टरमा आश्रित दलमर्दन कामीका अनुसार उनले सुकुमबासीका समस्या सुने पनि स्थायी बसोबास वा लालपुर्जाको विषयमा कुनै स्पष्ट धारणा राखिनन्। उनले स्थायी व्यवस्थापनको सट्टा आफ्नै गाउँ वा जिल्ला फर्किन आग्रह गरेकी थिइन्। 

तर सुकुमबासीले गाउँमा कुनै आधार नभएकाले लालपुर्जा नदिई फर्किन नसकिने जवाफ दिएपछि रावलले कोठा खोजिदिने र रोजगारीको व्यवस्था मिलाइदिने आश्वासन दिँदै सेन्टर छाड्न आग्रह गरिन्। सुकुमबासीले जसरी पनि होल्डिङ सेन्टर खालि गर्नुपर्ने पक्षमा देखिएकी उनले आफ्नै ठाउँमा फर्किन सुकुमबासीलाई मनाउने प्रयत्न गरिन्।

“भूमि मन्त्रीज्यू र भक्तपुरको सिडिओ आज साँझ ६ बजे आइपुग्नु भएको थियो। उहाँहरूले हामी सबैको समस्या सुन्नुभयो। तर स्थायी व्यवस्थापन गर्ने कुरै गर्नु भएन। आफ्नो जिल्ला फर्क, गाउँ फर्क पो भन्नुभयो,” कामीले उकेरासँग भने, “हामीले गाउँ फर्किएर जान सक्ने अवस्था नभएको र त्यहाँ बस्ने ठाउँ नभएको जानकारी गरायौं। लालपूर्जा दिएर पठाउने हो भने जान तयार रहेको भन्यौं।”

उनका अनुसार रावलले सोमबार फेरि आफू होल्डिङ सेन्टर आउने बताएकी छन्। यद्यपि रावलले खानाको लागि भने यसअघि होल्डिङ सेन्टरमा खाना उपलब्ध गराउँदै आएको शान्ति सेवासँगै समन्वय गरिन्। शनिबार राती भने सबैले खाना खान पाएको कामीले जानकारी दिए।

बोडेस्थित होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिँदै खाना बन्द गरेपछि भोकभोकै विरोध प्रदर्शनमा रहेको जानकारी पाएपछि शनिबार खाना बोकेर पुगेका केही अभियन्ता र सहयोगीहरूले उनीहरूलाई सडकमै खाना खुवाएका थिए।

होल्डिङ सेन्टर छोड्न निर्देशन दिएपछि बिहीबार रातीबाट यहाँका बालबालिकादेखि वृद्धासम्मले खाना खान पाएका थिएनन्। तर, बालबालिकाको पढाई छुटेको विषयमा भने कुनै कुरा नभएको कामीले सुनाए। स्थायी बसोबाससम्बन्धी कुनै ठोस निर्णय नआएपछि यहाँ आश्रय लिइरहेका सुकुमबासीहरुले रावललाई ज्ञापन पत्रसमेत बुझाएका थिए।

वैशाख १२ गतेदेखि थापाथलीलगायत काठमाडौं उपत्यकाका सुकुमबासी बस्तीहरूमा सरकारले डोजर चलाएको थियो। १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको सरकारले सात महिना बितिसक्दा पनि समाधान दिन सकेको छैन। महिनौंदेखि आश्रय लिइरहेको होल्डिङ सेन्टर खाली गर्न लागिरहेको छ।

अझै पनि भक्तपुरको बोडे, खरिपाटी र काठमाडौंको इचंगुमा गरेर तीन वटा होल्डिङ सेन्टरमा सुकुमबासीहरुले आश्रय लिइरहेका छन्। 

मंसिर १२, २०८३ शनिबार २१:२९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।