अर्थतन्त्र र जनजीविकाका सवालप्रति गम्भीर बन्न सरकारलाई कांग्रेसको सुझाव
काठमाडौं : नेपाली कांग्रेसले मुलुकमा चुलिँदो आर्थिक शिथिलता, बढ्दो महँगी र जनजीविकाका सवालप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ।
केन्द्रीय कार्यसमितिका निर्णयहरू सार्वजनिक गर्न ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण आम नागरिकको आम्दानी र खर्चबीच बिग्रिएको सन्तुलनबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
“आम नागरिकको आम्दानी र खर्चबीचको खाडल फराकिलो हुँदै गएको, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको भान्सा प्रभावित भएको तथा साना उद्यमी र व्यवसायीलाई व्यवसाय सञ्चालन र बैंकको ऋण भुक्तानीमा कठिनाइ भइरहेको अवस्था छ, बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उपलब्ध भए पनि लगानी बढ्न नसकेको, खराब कर्जाको चिन्ता बढेको, बजार चलायमान हुन नसकेको र निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको विषयलाई कांग्रेसले गम्भीरतापूर्वक उठाएको छ”, उनले भने।
सहकारी पीडित, किसान, श्रमिक, वैदेशिक रोजगारीमा जाने युवा तथा उद्यमीका समस्या समाधान हुन नसकेको र सरकारी बजेटको प्रभावकारी कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको कांग्रेसको निष्कर्ष छ।
कांग्रेसले अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक गर्न, समयबद्ध आर्थिक कार्ययोजना ल्याउन, पुँजीगत खर्च बढाउन, महँगी नियन्त्रण गर्न तथा निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्न माग गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति र विकास सहयोगलाई सकारात्मक रूपमा लिएको कांग्रेसले जनाएको छ। कांग्रेसले भ्रमणका सहमति कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नसमेत माग गरेको छ।
भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकीलगायतका बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनःनिर्माणलाई तीव्रता दिन र भूमिहीन, दलित तथा सुकुमबासीको समस्या समाधान गर्दा मानवीय संवेदनशीलता र वैकल्पिक आवासको व्यवस्था सुनिश्चित गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
मंसिर १२, २०८३ शनिबार १८:४१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।