विश्वकप छनोट प्लेअफका लागि नेपाली क्रिकेट टोलीको घोषणा

विश्वकप छनोट प्लेअफका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान)ले घरेलु मैदानमा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा गरेको छ। 

आगामी मङ्सिर तेस्रो सातादेखि सञ्चालन हुने उक्त प्रतियोगिताका लागि क्यानले शनिबार  १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

टोलीमा सन्दीपसहित आसिफ शेख, कुशल भुर्तेल, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, राशिद खान, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतमले अवसर पाएका छन्।

आइसिसी विश्वकप क्वालिफायर प्लेअफ यही मङ्सिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ। प्रतियोगितामा आठ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले मङ्सिर १८ गते इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

यस्तै, नेपालले मङ्सिर २० गते युगाण्डा, मङ्सिर २४ गते युनाइटेड अरब इमिरेट्स (युएई), मङ्सिर २६ गते जर्सी, मङ्सिर  २८ क्यानडा, पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतविरुद्ध खेल्ने तालिका छ। 

नेपालले खेल्ने सात वटै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ। प्रतियोगितामा सहभागी आठ टोलीले एकअर्कासँग एक/एक खेल खेल्नेछन्। अङ्क तालिकाको शीर्ष चारमा रहने टोलीले अर्को चरणमा स्थान बनाउने छन्। बाँकी चार टोलीको यात्रा समाप्त हुनेछ।

मंसिर १२, २०८३ शनिबार १९:०९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।