‘हामी कसैलाई एक्ल्याउँदैनौँ’- नटिङ्घमसँगको हारपछि फोफानाको बचाउमा अलोन्सो
एजेन्सी : प्रिमियर लिगअन्तर्गत शुक्रबार भएको खेलमा चेल्सी नटिङ्घम फरेस्टसँग ३-२ ले पराजित भएको छ।
खेलमा कमजोर प्रदर्शनका कारण डिफेन्डर वेस्ली फोफाना फेरि आलोचनामा परे पनि चेल्सीका प्रशिक्षक जाभी अलोन्सोले उनको बचाउ गर्दै टिम एकजुट हुनुपर्ने बताएका छन्।
फरेस्टको मैदान सिटी ग्राउन्डमा भएको खेलमा इगोर जेसुसको भली र मोर्गन गिब्स-ह्वाइटको दुई गोलमा घरेलु टोली विजयी भएको हो। चेल्सीका लागि इमानुएल एमेघाले दुई गोल गरे पनि हार टार्न सकेनन्।
खेलमा फोफानाले लियाम डेलापमाथि फउल गरेपछि फरेस्टले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो। त्यसपछि फोफानालाई मैदान बाहिर निकाल्दै लेभी कोलविललाई उतारिएको थियो।
यसअघि इएफएल कपमा लिभरपुलसँगको हारमा निर्णायक पेनाल्टी चुकेको विषयमा मजाक गरेको जस्तो देखिने अन्तर्वार्तापछि आफ्नै समर्थकबाट समेत फोफानाले हुटिङ खेपेका थिए।
खेलपछि स्काइ स्पोर्ट्ससँग कुरा गर्दै प्रशिक्षक अलोन्सोले कठिन समयमा टिमका हरेक खेलाडीलाई साथ दिनुपर्ने बताए। ‘हामीले सबैलाई सहयोग गर्नुपर्छ।
कठिन समय आउँछ, तर हामी कसैलाई पनि एक्ल्याउँदैनौँ र एकजुट भएर अघि बढ्न चाहन्छौँ,’ उनले भने, ‘फेरि हार बेहोर्नुपर्दा दुःख लागेको छ, तर हामी रोकिन मिल्दैन। समाधान खोज्ने प्रयास जारी राख्नुपर्छ।’
अलोन्सोले टिमको आत्मविश्वास कमजोर भएको स्वीकार गर्दै २-१ को अवस्थाबाट गोल खाएर ३-१ ले पछि पर्दा नतिजा जोगाउन नसकेको बताए।
‘अहिले सबै कुरा हाम्रो पक्षमा भइरहेको छैन, यसको जिम्मेवारी हामी नै लिन्छौँ र समाधान पनि हामीले नै खोज्नुपर्छ,’ उनले थपे।
चेल्सीको पछिल्लो लय निकै कमजोर देखिएको छ। गत मार्चयता प्रिमियर लिगका २३ खेलमध्ये चेल्सीले १४ खेल हारेको छ (७ जित र २ बराबरी), जुन यस अवधिमा लिगकै सबैभन्दा धेरै हार हो।
यो सिजन प्रिमियर लिगमा चेल्सीले २३ गोल खाइसकेको छ। चेल्सीभन्दा बढी गोल लिगको पुछारमा रहेको क्रिस्टल प्यालेस (२७ गोल) ले मात्र खाएको छ। सिजनको सुरुवाती १२ खेलमा चेल्सीले खाएको यो संयुक्त रूपमा सर्वाधिक गोल हो।
त्यस्तै, प्रशिक्षक अलोन्सोका लागि पनि चेल्सीको सुरुवात कठिन बन्दै गएको छ।
सबै प्रतियोगिता गरी चेल्सीमा १५ खेलको नेतृत्व गर्दा उनले ६ खेल हारिसकेका छन्। यो संख्या उनले पूर्वक्लब रियल म्याड्रिडमा ३४ खेल सम्हाल्दा बेहोरेको कुल हार (६ खेल) बराबर हो।
मंसिर १२, २०८३ शनिबार ११:५९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।