मोबाइलमै हेर्ने भए भिडियो पठाइदिन्थेँ, आँखामा आँखा जुधाएर कुरा गरौँ न : रवि लामिछाने
सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई कडा अनुशासनमा रहन निर्देशन दिएका छन्।
प्रशिक्षण अवधिभर मोबाइल फोन बन्द गर्न निर्देशन दिँदै उनले सामान्य अनुशासनसमेत पालना नगर्नेहरूको पार्टीले रेकर्ड राख्ने र मूल्याङ्कन गर्ने चेतावनी दिएका हुन्।
सम्बोधनका क्रममा सहभागीहरूले मोबाइल निकालेर भिडियो खिचिरहेपछि लामिछानेले अबको एक मिनेटभित्र फोन अफ गर्न आग्रह गरेका थिए।
तर, निर्देशनपछि पनि केही सहभागीले मोबाइल ननिभाएपछि उनले हाँस्दै व्यङ्ग्यात्मक शैलीमा भने, ‘ओहो नमस्कार महासभापतिज्यू! सभापतिले भनेको अफ नगरेपछि त महासभापति हुनुभयो नि त! नगर्नेहरू महासभापतिज्यूलाई नमस्कार!’
प्रशिक्षणको भिडियो पत्रकारहरूलाई पार्टीले नै उपलब्ध गराउने उल्लेख गर्दै उनले मोबाइलमा मात्र अल्झिनुभन्दा प्रत्यक्ष संवादमा केन्द्रित हुन आग्रह गरे।
‘तपाईंले मलाई मोबाइलमा हेर्दै आउनुभएको थियो, मोबाइलमै हेर्ने भए त म एउटा भिडियो रेकर्ड गरेर पठाइदिन्थेँ,’ उनले भने, ‘आउनुस् न, आज प्रत्यक्ष आँखामा आँखा जुधाएर कुरा गरौँ न! त्यो पो तरिका हो त।’
लामिछानेले यो प्रशिक्षणमा मात्र नभई रास्वपाका कुनै पनि कार्यक्रम वा बैठकमा आयोजक कमिटीले अनुमति दिएको बाहेक फोन प्रयोग नगर्ने नीति रहेको स्पष्ट पारे।
ब्रेक समयबाहेक सबैको फोन बन्द हुनुपर्ने, आपत्कालीन अवस्थाका लागि परिवारलाई साथीको नम्बर उपलब्ध गराउनुपर्ने तथा हलभित्र आपसी कुराकानी र बारम्बार आवतजावतसमेत बन्द गर्नुपर्ने उनको निर्देशन थियो।
प्रशिक्षण सिक्ने र गलत सिकेको कुरा बिर्सने प्रक्रिया भएकाले सुरुमा रमाइलो नलागे पनि अनुशासन नै सबैभन्दा महत्वपूर्ण पक्ष भएको लामिछानेको भनाइ छ।
हलमा उपस्थित कार्यकर्ताको मिहिनेत, प्रतिबद्धता र अनुशासनकै आधारमा भविष्यमा देशको राष्ट्रपति, सभामुख र मन्त्रीसम्म बन्न सक्ने उल्लेख गर्दै उनले थपे, ‘तपाईंहरू अब टोल-टोलमा प्रशिक्षण दिने प्रशिक्षक पनि हो। तर, जसले यो सामान्य अनुशासन पालना गर्नुहुन्न, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढङ्गले मूल्याङ्कन अवश्य पनि हुनेछ।’
मंसिर १२, २०८३ शनिबार १२:५३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।