१५ करोड मूल्यको ३ केजी कोकिन लिन ठमेलमा आउँदा समातिए भारतीय प्रहरी जवान

१५ करोड मूल्यको ३ केजी कोकिन लिन ठमेलमा आउँदा समातिए भारतीय प्रहरी जवान

काठमाडौँ : नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर कोकिनको कारोबारमा संलग्न रहेको आरोपमा करिब १५ करोड रुपैयाँ मूल्य बराबरको ३ किलोग्राम कोकिनसहित भारतीय प्रहरी जवान पक्राउ परेका छन्।

लागुऔषध अनुसन्धान ब्युरोको टोलीले काठमाडौँको ठमेलबाट मंसिर ११ गते ठमेलस्थित जीपी रोडको एक होटलको कोठाबाट ८७ वर्षीय दक्षिण कोरियाली नागरिक सुक चोन ली र २८ वर्षीय भारतीय नागरिक दीपक उत्तम वाघमारेलाई पक्राउ गरेको हो। 

ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार उनीहरूको क्रिमिनल प्रोफाइलिङ गर्ने क्रममा कोरियाली नागरिक लीले साथमा ल्याएको ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाई लुकाइराखेको अवस्थामा कोकिन फेला परेको हो। भारतीय प्रहरी जवान बाघमारे सोही कोकेन लिएर भारत लैजान आएको बेलामा पक्राउ पिरेका हुन्।

प्रारम्भिक अनुसन्धानका क्रममा कोरियाली नागरिक लीले दक्षिण अमेरिकी मुलुक पेरुबाट म्याड्रिड (स्पेन) र दोहा (कतार) हुँदै मंसिर १० गते उक्त कोकिन काठमाडौँ ल्याइपुर्याएको खुलेको छ। काठमाडौँ ल्याइएको उक्त लागूऔषध भारतीय नागरिक वाघमारेले भारतको मुम्बईसम्म पुर्याउने जिम्मा लिएका थिए। उनीहरूले कोकिन लुकाइएको सुटकेस साटासाट गर्दा विशेष ‘पासवर्ड’ को प्रयोग गर्ने गरेको समेत अनुसन्धानबाट पत्ता लागेको ब्युरोले जनाएको छ। 

पक्राउ परेका भारतीय नागरिक वाघमारेको साथबाट मुम्बईको स्टेट रिजर्भ पुलिस फोर्सको परिचयपत्र समेत फेला परेको छ। कोरियाली नागरिक ली यसअघि पनि जुलाई १९, २०२६ मा नेपाल आई तीन दिन ठमेलस्थित होटलमा बसेर पुनः कोरिया फर्किएको अभिलेखबाट देखिएको छ। 

प्रहरीले उनीहरूको साथबाट ३ किलोग्राम कोकिनका साथै एक थान पासपोर्ट, एक थान आधारकार्ड र दुई थान मोबाइल बरामद गरेको छ। बरामद गरिएको कोकिनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले करिब १५ करोड रुपैयाँ हुन आउने ब्युरोले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि ब्युरोबाट थप आवश्यक अनुसन्धान भइरहेको छ। 

मंसिर १३, २०८३ आइतबार १८:०८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।