अनुसन्धानका गोप्य सूचना चुहाए बहालवाला र पूर्व प्रहरीसम्मलाई कारबाही गर्ने हेडक्वाटरको चेतावनी
काठमाडौँ : फौजदारी अपराधको अनुसन्धानका क्रममा रहेका गोप्य सूचना तथा विवरणहरू अनधिकृत रूपमा चुहावट भइरहेको भन्दै प्रहरी प्रधान कार्यालयले कार्वाहीको चेतावनी दिएको छ।
प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी प्रेस विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धानसम्बन्धी गोप्य सूचना चुहावट हुने गरेको देखिएको उल्लेख गर्दै यसले शङ्कित व्यक्तिहरूको वैयक्तिक गोपनीयतामा असर पार्नुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता, संवेदनशीलता र नेपाल प्रहरीको साङ्गठनिक गरिमामा समेत आँच पुर्याएको उल्लेख छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा अनुसन्धानका क्रममा सङ्कलित गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेखहरू सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्य प्रचलित कानुन र प्रहरी आचरण विपरीतको गम्भीर कसुर रहेको उल्लेख छ।
विज्ञप्तिमा प्रहरी नियमावलीमा रहेको आचरणसम्बन्धी व्यवस्था उल्लङ्घनको कसूरसम्बन्धि नियम र मुलुकी अपराध संहिता बमोजिम गोप्य सूचना तथा अभिलेखको अनधिकृत खुलासा र दुरुत्साहनसम्बन्धी कानुनी व्यवस्था रहेकाले संलग्न व्यक्तिमाथि विभागीय तथा कानुनी कारबाही हुन सक्ने उल्लेख छ।
विज्ञप्तिमा नेपाल प्रहरीमा कार्यरतसँगै अवकाश पाएका प्रहरीहरूलाई समेत अनुसन्धानसम्बन्धी गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन, सार्वजनिक नगर्न र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन/नगराउन निर्देशन दिइएको छ।
विज्ञप्तिमा गैरकानुनी तथा अनुशासन विपरीतका गतिविधिमा संलग्न रहे पूर्व वा बहालवाला प्रहरी कर्मचारी संलग्न रहे वा त्यस्तो कार्यलाई प्रोत्साहन, सहयोग वा सहजीकरण गरे छानबिन गरेर कार्वाहीको चेतावनी दिइएको छ।
मंसिर १३, २०८३ आइतबार २१:२६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।