नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गका लागि सिद्धार्थ बैंकको ‘एन-ट्याग’ सेवा सुरु
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपाल (आरबिएन) सँगको सहकार्यमा नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारीसाधनका लागि ‘एन-ट्याग’ सेवा सञ्चालनमा ल्याएको छ।
सवारीसाधनको अगाडिको सिसामा टाँसिने विद्युतीय (आरएफआइडी) स्टिकरको मद्दतले टोल बुथमा नरोकीकन तोकिएको लेनबाट सिधै गुड्दा स्वचालित रूपमा टोल शुल्क भुक्तानी हुनेछ।
यस सेवाले टोल बुथमा लामो समय कुर्नुपर्ने झन्झट हटाएर समय र इन्धनको बचत गर्नुका साथै यात्रालाई पूर्ण रूपमा नगदरहित र छरितो बनाउने बैंकले जनाएको छ।
सेवा लिन चाहने व्यक्तिगत वा संस्थागत सवारीधनीले सडक बोर्ड नेपालको पोर्टल (rbn.org.np) मार्फत अनलाइन आवेदन दिई प्राप्त दर्ता नम्बर र आवश्यक कागजातसहित नजिकैको सिद्धार्थ बैंक शाखाबाट भौतिक स्टिकर प्राप्त गर्न सक्नेछन्।
उक्त स्टिकर पुनः पोर्टलबाट सक्रिय (एक्टिभेट) गरी सवारीसाधनको अगाडिको सिसामा टाँस्नुपर्नेछ। ग्राहकले बैंकको मोबाइल बैंकिङ एपबाटै सहजै एन-ट्याग रिचार्ज गर्न तथा आरबिएनको मोबाइल एप र पोर्टलबाट मौज्दात र कारोबार विवरण हेर्न सक्नेछन्।
एउटा एन-ट्याग एउटा निश्चित सवारीसाधनका लागि मात्र प्रयोग गर्न मिल्ने र टोल लेन प्रयोग गर्नुअघि पर्याप्त ब्यालेन्स राख्नुपर्ने बैंकले स्पष्ट पारेको छ।
मंसिर १२, २०८३ शनिबार १०:१३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।