खाना पकाउने क्रममा चुलोको आगोमा परेर दोलखामा वृद्धाको मृत्यु
दोलखा : खाना पकाउने क्रममा चुलोको आगोमा परेर दोलखाको बैतेश्वर गाउँपालिका–८, क्षेत्रपा फेदीकी ७२ वर्षीया हरिमाया खत्रीको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ७:३० बजे घरमा एक्लै रहेका बेला आगोमा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा काठमाडौंको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।
प्रहरीका अनुसार घरमा श्रीमान्-श्रीमती मात्र बस्दै आएकामा श्रीमान् दूध बेच्न बजार गएका बेला खत्री अचानक आगो बलिरहेको चुलोमा परेकी थिइन्।
अनुहार, छाती, पेट तथा दुवै हातखुट्टासहित शरीरको पूरै भाग जलेको अवस्थामा बुहारीले देखेपछि उनलाई तत्काल मैनापोखरीस्थित बैतेश्वर अस्पताल लगिएको थियो।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि अपराह्न करिब ४:३० बजे कीर्तिपुर अस्पताल पुर्याइएकोमा जाँचका क्रममा ४:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत साँझ ६:१० बजे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय जिरी र मैनापोखरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको जनाइएको छ।
मंसिर १२, २०८३ शनिबार १०:०७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।