दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न कास्कीका किसानको माग
कास्की : कास्कीका दुग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर कम्तीमा ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्।
दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढे पनि तीन वर्षदेखि मूल्य समायोजन नहुँदा लागतसमेत नउठेको उनीहरूको गुनासो छ।
सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी हाल गुणस्तरका आधारमा किसानले प्रतिलिटर ६८ देखि ७१ रुपैयाँ मात्र पाउँदै आएको जनाएको छ।
सहकारीका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत २८ हजार र निजी फार्म तथा डेरीबाट करिब ७० हजार गरी दैनिक करिब एक लाख लिटर दूध उत्पादन तथा बिक्री-वितरण हुँदै आएको छ।
भौगोलिक अवस्था, पशु आहार, श्रम र ढुवानी दूरीका आधारमा मूल्य निर्धारण नगरिए किसान पेसाबाटै पलायन हुने अवस्था आएको बरालले बताए।
मूल्य वृद्धिसँगै किसानले दूधको रकम समयमै भुक्तानी, प्रभावकारी पशु स्वास्थ्योपचार र खोप, आहारमा सहुलियत, उत्पादन लागतका आधारमा अनुदान र निःशुल्क कृत्रिम गर्भाधान सेवाको मागसमेत गरेका छन्।
पोखरा-लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य स्थिर रहे पनि यस अवधिमा दाना-चोकरको मूल्य २५ प्रतिशतभन्दा धेरै बढेको बताए।
त्यस्तै, माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकका कृषक कृष्णप्रसाद अधिकारीले उपभोक्ताले बजारमा महँगो मूल्य तिर्नुपरे पनि उत्पादक किसानले उचित प्रतिफल नपाएको गुनासो गरे।
मंसिर १२, २०८३ शनिबार ०९:०१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।