दैनिक ३२ हजार लिटर दिसाजन्य फोहोर प्रशोधन, शहरको टाउको दुखाइबाट खेतको मल !
बुटवल : शहरमा बढ्दो जनघनत्वसँगै शौचालयबाट निस्कने फोहोरको व्यवस्थापन स्थानीय सरकारका लागि चुनौती बन्दै गएको छ।
उचित व्यवस्थापन नहुँदा वातावरण र सार्वजनिक स्वास्थ्यमा जोखिम निम्त्याउने यस्तो फोहोरलाई बुटवलमा भने प्राङ्गारिक मल उत्पादनको स्रोत बनाइएको छ।
दिसा-पिसाबजन्य फोहोर र गाईवस्तुको गोबर प्रशोधन गरेर नेपाल बायो कम्पोष्टले मासिक करिब १० मेट्रिक टन प्राङ्गारिक मल उत्पादन गर्दै आएको छ।
बुटवल सेनिटरी प्रालिअन्तर्गत सञ्चालित यस कम्पनीले दैनिक करिब ३२ हजार लिटर शौचालयजन्य फोहोर संकलन तथा व्यवस्थापन गर्दै आएको छ।
सामान्यतया विसर्जन गर्न कठिन मानिने दिसाजन्य फोहोरलाई विभिन्न जैविक पदार्थसँग मिसाएर प्रशोधन गरी मलमा रूपान्तरण गरिएको हो। यसले शहरी सरसफाइमा सहयोग पुर्याउनुका साथै कृषि उत्पादनका लागि वैकल्पिक मल उपलब्ध गराउने प्रयाससमेत गरेको छ।
कम्पनीका अध्यक्ष यमबहादुर थापाले संकलित फोहोरलाई गाईवस्तुको गोबरसँग मिसाएर प्रशोधन गर्ने गरिएको बताए।
‘फोहोरबाट मेसिनको सहायताले डस्ट निकालेर त्यसमा वनमारा, पिना, हड्डीको धुलो, निम तथा सुर्तीको धुलो र सूक्ष्म जीवाणुको विकासमा सहयोग गर्ने इएम मिसाइन्छ,’ उनले भने, ‘त्यसपछि करिब ४५ दिनसम्म कुहाउने र प्रशोधन गर्ने प्रक्रिया पूरा गरी मल तयार पारिन्छ।’
यसरी तयार भएको मल सुनवलस्थित प्रयोगशालामा परीक्षण गरेपछि प्याकेजिङ गरेर बजारमा पठाउने गरिएको थापाले बताए।
पछिल्लो एक वर्षदेखि नियमित उत्पादन भइरहेको मल एक, पाँच र २५ किलोका प्याकेटमा बिक्री हुँदै आएको छ। यसले रासायनिक मलप्रतिको निर्भरता घटाउन तथा प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
तीन करोडभन्दा बढी निजी लगानी
शौचालयजन्य फोहोर प्रशोधन गरी मल उत्पादन गर्ने यो परियोजना पाँच व्यवसायीको संयुक्त लगानीमा अघि बढाइएको हो। सेनिटरी व्यवसायमा संलग्न यमबहादुर थापाको नेतृत्वमा कृष्णप्रसाद पन्थी, शान्ति बलाल मगर, राजकुमार श्रेष्ठ र अशोक नेपालीले यसमा लगानी गरेका छन्।
सेनिटरी व्यवसायबाट प्राप्त हुने मासिक आम्दानीसमेत व्यक्तिगत खर्चमा उपयोग नगरी पाँचै साझेदारले फोहोर प्रशोधन केन्द्र निर्माणमा लगाएको सञ्चालक अशोक नेपालीले बताए। उनका अनुसार परियोजनामा हालसम्म तीन करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

रामनगर सामुदायिक वनसँग सम्झौता गरी २०७८ सालदेखि परियोजना सञ्चालनमा ल्याइएको हो। सामुदायिक वनको पाँच कट्ठा जग्गामा १ लाख लिटर क्षमताको प्रशोधन ट्याङ्कीसहितको प्लान्ट निर्माण गरिएको छ। प्लान्ट निर्माणमा करिब तीन करोड र सडक निर्माणमा थप २५ लाख रुपैयाँ खर्च भएको अध्यक्ष थापाले बताए।
राज्यले व्यवस्थापन गर्नुपर्ने सार्वजनिक सरसफाइसँग जोडिएको काम निजी क्षेत्रले लगानी गरेर गरिरहेको भए पनि त्यसअनुसारको प्रोत्साहन र संरक्षण पाउन नसकेको उनको गुनासो छ। ठूलो लगानीमा स्थापित उद्योगको भविष्य सुनिश्चित गर्न सरकारले आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने उनको माग छ।
स्थानीय तहका लागि अध्ययनको केन्द्र
बुटवलमा सञ्चालित यो प्रशोधन केन्द्र अहिले शौचालयजन्य फोहोर व्यवस्थापनको विकल्प खोजिरहेका अन्य स्थानीय तहका लागि अध्ययन थलोसमेत बनेको छ।
अध्यक्ष थापाका अनुसार हरेक महिनाजसो विभिन्न प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सरकारी अधिकारीहरू प्रशोधन प्रविधि र व्यवस्थापनको अभ्यास बुझ्न केन्द्रमा पुग्ने गरेका छन्।
स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने फोहोर निजी क्षेत्रले संकलन तथा प्रशोधन गरी उपयोगी उत्पादन निकाल्न सकिने अभ्यासले अन्य पालिकालाई समेत आकर्षित गरेको उनको भनाइ छ।
शौचालयजन्य फोहोरलाई समस्याका रूपमा मात्र नहेरी प्रशोधनमार्फत आम्दानीको स्रोत बनाउन सकिने सम्भावना परियोजनाले देखाएको थापाले बताए।
लगानीको सुरक्षा र दीर्घकालीन सञ्चालनको प्रश्न
फोहोरलाई स्रोतमा रूपान्तरण गर्ने प्रयास अघि बढे पनि परियोजनाको दीर्घकालीन सञ्चालनमा केही नीतिगत चुनौती देखिएका छन्।
विशेषगरी सामुदायिक वनको जग्गामा स्थापना गरिएको उद्योगको भोगाधिकार, जग्गा उपयोग र सम्झौताको निरन्तरताबारे स्पष्ट व्यवस्था नहुँदा लगानीको सुरक्षा र उद्योग विस्तारको विषय अन्योलमा रहेको अध्यक्ष थापाले बताए।
‘कम्पनी र रामनगर सामुदायिक वनबीचको सम्झौताअनुसार जग्गा उपयोगबापत मासिक ३५ हजार रुपैयाँ भाडा र मल बिक्रीबाट हुने नाफाको ५० प्रतिशत सामुदायिक वनलाई उपलब्ध गराउने सहमति भएको थियो,’ उनले भने, ‘तर, परियोजनालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न जग्गा उपयोग तथा व्यवस्थापनसम्बन्धी स्पष्ट नीतिगत आधार आवश्यक छ। सरकारले यसमा सहजीकरण गर्नुपर्छ।’
मंसिर १२, २०८३ शनिबार ०८:३५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।