माग दैनिक १२० बुलेट, एकै दिन लोड भयो १६५ बुलेट
काठमाडौं : एकै दिन १ सय ६१ बुलेट खाना पकाउने एलपी ग्यास लोडिङ भएको छ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग समन्वय गरी लोडिङ बढाउन अनुरोध गरेपछि बिहीबार (नोभेम्बर २६) उक्त परिमाणमा ग्यास लोड भएको हो।
निगमका अनुसार सामान्य अवस्थामा दैनिक औसत १ सय १० देखि १ सय २० बुलेटसम्म ग्यास लोडिङ हुँदै आएको थियो।
बजारमा माग बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै मन्त्रीले दैनिक १ सय ६० बुलेटसम्म लोडिङको व्यवस्था मिलाउन निगम व्यवस्थापनलाई निर्देशन दिएका थिए।
हाल बजारमा ग्यासको बिक्री-वितरण नियमित रहेको उल्लेख गर्दै निगमले पछिल्लो लोडिङ वृद्धिले आपूर्ति व्यवस्थापन थप सहज हुने अपेक्षा गरेको छ।
अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै अवरोध आउन नदिन आयात, ढुवानी तथा वितरण प्रणालीको नियमित अनुगमन गरिरहेको मन्त्रालय र निगमले जनाएका छन्।
उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सम्बन्धित निकायबीचको समन्वयलाई समेत प्राथमिकता दिइएको छ।
मंसिर १२, २०८३ शनिबार ०७:०९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।