आईपीएल २०२७ को अक्सनमा नेपालका १० खेलाडीको नाम दर्ता, एसोसिएट राष्ट्रमा यूएईसँगै दोस्रो स्थान
काठमाडौं : विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट लिग ‘इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७’ को खेलाडी अक्सन रजिस्टरमा नेपालका १० जना खेलाडी समावेश भएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार कुल १ हजार २२० खेलाडीको सूचीमा नेपालबाट १० खेलाडी समेटिएका हुन्।
यद्यपि, बीसीसीआईको विज्ञप्तिमा नेपालबाट कुन-कुन खेलाडीले नाम दर्ता गराएका छन् भन्ने विवरण भने खुलाइएको छैन।
एसोसिएट राष्ट्रहरूको सूचीमा अमेरिकाबाट सर्वाधिक १३ खेलाडी दर्ता हुँदा नेपाल र यूएई समान १०-१० खेलाडीसहित दोस्रो स्थानमा छन्।
यस्तै नेदरल्यान्ड्सका तीन तथा क्यानडा, जापान र स्कटल्यान्डका दुई-दुई गरी एसोसिएट राष्ट्रबाट कुल ४२ खेलाडी अक्सन रजिस्टरमा अटाएका छन्।
बीसीसीआईका मानार्थ सचिव देवजित सैकियाले जारी गरेको विज्ञप्तिअनुसार कुल १ हजार २२० खेलाडीमध्ये ९३९ भारतीय र १७ विदेशी राष्ट्रका २८१ खेलाडी रहेका छन्।
यसमा १८४ क्याप्ड, ९९४ अनक्याप्ड र ४२ एसोसिएट राष्ट्रका खेलाडी छन्। विदेशी राष्ट्रमध्ये अस्ट्रेलियाबाट सर्वाधिक ५३, दक्षिण अफ्रिकाबाट ४०, वेस्ट इन्डिजबाट ३६, न्युजिल्यान्डबाट २५ र अफगानिस्तानबाट २३ खेलाडी दर्ता भएका छन्।
आगामी सिजनका लागि १० फ्रेन्चाइज टोलीले १८४ खेलाडी पहिले नै रिटेन वा छनोट गरिसकेकाले अब हुने अक्सनबाट अधिकतम ६६ स्थान (स्लट) मात्र भरिनेछ।
तीमध्ये विदेशी खेलाडीका लागि केवल २५ स्थान मात्र रिक्त रहेकाले नेपालीसहित २८१ विदेशी खेलाडीबीच कडा प्रतिस्पर्धा हुनेछ।
अब फ्रेन्चाइज टोलीहरूले अक्सन रजिस्टरबाट आफूले चाहेको खेलाडीको नाम पठाउनेछन् र सोही आधारमा आगामी डिसेम्बर ४ मा अन्तिम अक्सन सूची तथा खेलाडी सेट सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ।
हाल १० टोलीसँग कुल २९५ करोड ६० लाख भारतीय रुपैयाँ बराबरको अक्सन रकम बाँकी छ। जसमा दिल्ली क्यापिटल्ससँग सर्वाधिक चार तथा कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावादसँग समान तीन-तीन विदेशी स्लट खाली छन्।
अक्सन रकमका हिसाबले लखनउसँग सर्वाधिक ४७ करोड ४५ लाख, कोलकातासँग ४१ करोड ६५ लाख, हैदरावादसँग ४० करोड १५ लाख र दिल्लीसँग ३९ करोड ५० लाख भारु बाँकी छ।
नेपालबाट हालसम्म सन्दीप लामिछानेले मात्र आईपीएल (सन् २०१८ र २०१९ मा दिल्लीबाट) खेलेका छन्।
मंसिर ९, २०८३ बुधबार १४:०६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।