दोहोरो शतकसँगै वैभव सूर्यवंशीका दुई कीर्तिमान

दोहोरो शतकसँगै वैभव सूर्यवंशीका दुई कीर्तिमान

एजेन्सी : वैभव सूर्यवंशीको दोहोरो शतकको मद्दतमा भारत ‘ए’ले मंगलबार युएईलाई सात विकेटले पराजित गर्दै एसिया कप राइजिङ स्टार्सको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। २५० रनको लक्ष्य भारत ‘ए’ले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

खेलमा सूर्यवंशीले ५३ बलमा ७ चौका र २८ छक्का प्रहार गर्दै २०४ रन बनाएर लिस्ट एमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने रेकर्ड बनाए। यही खेलमा उनले क्रिकेटको इतिहासमै सबैभन्दा छिटो २८ बलमै शतक बनाउने विश्व कीर्तिमान समेत कायम गरे।

भारतीय टोलीलाई सूर्यवंशीले पहिलो बलदेखि नै आक्रामक सुरुआत दिलाएका थिए। उनले मात्र १६ बलमा अर्धशतक पूरा गर्दै युएईका बलरहरूलाई दबाबमा राखे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन जोडेको थियो। युएईका लागि हरप्रित सिंह भाटियाले १४४ बल खेल्दै १३० रनको धैर्यपूर्ण शतकीय योगदान दिएका थिए। भारतका तर्फबाट घातक बलिङ गरेका अरशद खानले सर्वाधिक ४ विकेट लिए।

छक्काको नयाँ कीर्तिमान
यस इनिङ्ससँगै सूर्यवंशीले लिस्ट ‘ए’ क्रिकेटको एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यानको नयाँ कीर्तिमान समेत बनाएका छन्। युएईको खेलमा उनले २८ छक्का र सात चौका प्रहार गरे। उनले रोहित शर्मा र ऋतुराज गायकवाडले बनाएको संयुक्त कीर्तिमान भङ्ग गरेका हुन्। 

यसअघि रोहितले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध र गायकवाडले सन् २०२२ को विजय हजारे ट्रफीमा उत्तर प्रदेशविरुद्ध समान १६-१६ छक्का प्रहार गरेका थिए। सूर्यवंशीले यसअघि डिसेम्बर २०२५ मा अरुणाचल प्रदेशविरुद्ध १९० रन बनाउने क्रममा १५ छक्का प्रहार गरिसकेका थिए।

मंसिर ८, २०८३ मंगलबार १८:२१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।