कार्ड र डिजिटल भुक्तानी सेवा विस्तार गर्न सिद्धार्थ बैंक र भिसाबीच सम्झौता
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेड र डिजिटल भुक्तानी प्रदायक संस्था भिसाबीच कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवा सुदृढीकरणका लागि रणनीतिक सम्झौता भएको छ।
सम्झौताअनुसार ग्राहकका लागि कार्ड सेवा, भुक्तानी स्वीकार्यता र नवीन डिजिटल भुक्तानी समाधान विस्तार गरिने जनाइएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले यस सहकार्यले भिसा कार्ड व्यवसायलाई सुदृढ बनाउँदै ग्राहक सुविधा वृद्धि र डिजिटल भुक्तानी प्रणालीको विकासमा योगदान पुर्याउने बताए।
यस्तै, भिसाका नेपाल, भुटान तथा बंगलादेशका कन्ट्री म्यानेजर सब्बिर अहमदले तीव्र रूपमा विस्तार भइरहेको नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुरक्षित, विश्वसनीय र नवीन सेवाको पहुँच बढाउन यो सहकार्यले मद्दत पुग्ने उल्लेख गरे।
सम्झौताअन्तर्गत बैंकले आगामी दिनमा ग्राहकका लागि सुरक्षित र सहज डिजिटल भुक्तानी सेवासँगै विशेष अफर तथा सुविधाहरू ल्याउने योजना बनाएको छ।
मंसिर १०, २०८३ बिहीबार ११:४९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।