१६ हजार ४ सय मेगावाटका आयोजना पीपीएको प्रतीक्षामा, नयाँ ‘ऊर्जा मिश्रण’ नीतिमार्फत बाटो खुलाउने तयारी
काठमाडौं : सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित नयाँ ‘ऊर्जा मिश्रण’ (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादनका विभिन्न स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो। यो ढाँचा तयार भएपछि लामो समयदेखि अवरुद्ध विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।
मन्त्रालयले तयार गरिरहेको नयाँ ढाँचामा नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पीआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को अनुपात तय गरिनेछ।
हाल मुलुकको कुल जडित विद्युत् क्षमता करिब ४ हजार २०० मेगावाट रहेको छ, जसमा नदी प्रवाही जलविद्युत् आयोजनाको हिस्सा सर्वाधिक छ। वर्षायाममा उत्पादन बढी हुने र हिउँदमा घट्ने मौसमी असन्तुलन व्यवस्थापन गर्न ऊर्जा स्रोतको विविधीकरण अपरिहार्य देखिएको हो।
यसअघि १५ हजार मेगावाट उत्पादन लक्ष्यका आधारमा ऊर्जा मिश्रण तय गरिएको थियो। तर, सरकारले ३० हजार मेगावाट उत्पादनको लक्ष्य अघि सारेपछि पुरानो अनुपातले दीर्घकालीन ऊर्जा आवश्यकता सम्बोधन गर्न नसक्ने निष्कर्षसहित नयाँ ढाँचा तयार गर्न लागिएको हो।
सन् २०१६ मा जारी राष्ट्रिय ऊर्जा संकट निवारण नीति तथा विद्युत् विकास दशक (२०१६-२०२६) ले पहिलोपटक विभिन्न स्रोतबाट हुने विद्युत् उत्पादनको अनुपात तोकेको थियो। जसमा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनालाई ४० देखि ५० प्रतिशत र अर्धजलाशययुक्तलाई १५ देखि २० प्रतिशत हिस्सा दिने लक्ष्य राखिएको थियो।
पछि १५ हजार मेगावाट लक्ष्यअनुसारको ढाँचामा जलाशययुक्त तथा पम्प स्टोरेजको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाहीको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्तको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको ५ देखि १० प्रतिशत कायम गरियो। त्यसमा सौर्य ऊर्जाका लागि करिब १० प्रतिशत हिस्सा प्रस्ताव गरिएको थियो।
२०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले १ हजार ५०० मेगावाटसम्मका नदी प्रवाही आयोजनाको पीपीए स्वीकृत गरेको थियो।
तर, गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि पीपीए प्रक्रिया थप प्रभावित भयो। त्यसयता नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको पीपीए पनि रोकिएको छ।
प्राधिकरणका अनुसार हालसम्म ४०४ वटा नदी प्रवाही आयोजनासँग ६ हजार ७१३.४४ मेगावाट, ५१ वटा अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६.८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाटको पीपीए भइसकेको छ। तर, थप २८१ आयोजनाको कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना अझै पीपीएको प्रतीक्षामा छन्।
पीपीए नहुँदा आयोजना विकासका लागि आवश्यक वित्तीय व्यवस्थापन प्रभावित हुँदै आएको छ। बैंक तथा वित्तीय संस्थाले विद्युत् बिक्रीको सुनिश्चितता खोज्ने भएकाले पीपीएलाई आयोजनाको वित्तीय विश्वसनीयताको प्रमुख आधार मानिन्छ।
नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार भएपछि प्राधिकरणले आयोजनाको प्रकृति र आवश्यकताका आधारमा पीपीए प्रक्रिया अघि बढाउन सक्नेछ। यसबाट लगानीको प्रतीक्षामा रहेका हजारौँ मेगावाट क्षमताका आयोजना विकासको बाटो खुल्नुका साथै निजी क्षेत्रको लगानी, निर्माण गतिविधि र रोजगारी विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नयाँ ऊर्जा मिश्रणले जलविद्युत्सँगै वैकल्पिक ऊर्जा स्रोतलाई पनि प्राथमिकतामा राख्नेछ। हाल नेपालको उत्पादन योजना मुख्यतः जलविद्युत्मा केन्द्रित छ भने सौर्य ऊर्जाको हिस्सा विस्तार हुँदै गएको छ। वायु ऊर्जाबाट हुने उत्पादन भने नगण्य छ।
जलविद्युत्मा अत्यधिक निर्भर रहँदा हिउँदमा उत्पादन घट्ने र माग व्यवस्थापनका लागि भारतबाट आयात गर्नुपर्ने अवस्था कायम छ। यस्तो निर्भरता घटाउन तथा वर्षा र हिउँद दुवै याममा आपूर्ति सन्तुलन कायम गर्न सौर्य, वायु र अन्य वैकल्पिक ऊर्जालाई प्रणालीमा समेट्ने तयारी गरिएको हो।
मन्त्रालयले यी स्रोतको सम्भावना र उत्पादन क्षमताबारे अध्ययन गरिरहेको छ। विशेषगरी जलाशययुक्त र पम्प स्टोरेज आयोजनाले ऊर्जा भण्डारण र मागअनुसार आपूर्ति व्यवस्थापनमा योगदान दिन सक्नेछन्।
३० हजार मेगावाट उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन विस्तारसँगै आन्तरिक खपत, प्रसारण पूर्वाधार र अन्तरदेशीय विद्युत् व्यापारलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने चुनौती छ।
नेपालले भारतसँगै बंगलादेशसम्म विद्युत् निर्यातको सम्भावना विस्तार गरिरहेको अवस्थामा सन्तुलित ऊर्जा मिश्रणले निर्यातयोग्य विद्युत् उत्पादन बढाउन र विदेशी मुद्रा आर्जनको अवसर विस्तार गर्न सघाउने देखिएको छ।
मंसिर १०, २०८३ बिहीबार ०९:३७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।